भारतीय कम्पनीले पायो सिर्सिया सुख्खा बन्दरगाह संचालनको ठेक्का

काठमाडौं । पर्सास्थित सिर्सिया सुक्खा बन्दरगाह संचालनको ठेक्का भारतीय कम्पनीले पाएको छ । भारतीय कम्पनी प्रिस्टिन मेगा लजिस्टिक पार्कले ५ वर्षका लागि उक्त बन्दरगाह संचालनको ठेक्का पाएको हो ।

प्रिस्टिन मेगाले अर्को भारतीय कम्पनी कोंकर कर्पोरेसन इन्डियाको भन्दा धेरै रकम बोलकबोल गर्दै ठेक्का हात पारेको हो ।

इन्टर मोडल यातायात विकास समितिले आह्वान गरेको टेन्डरमा प्रिस्टिनले कोंकरकोभन्दा २० करोड रुपैयाँ धेरै तिरेर ठेक्का हात पारेको हो । कोंकरले भने ४ अर्ब ५० करोड ९० लाख रुपैयाँमा कबोल गर्दा प्रिस्टिनले ४ अर्ब ७१ करोड रुपैयाँमा टेन्डर सकार गरेको हो ।

यसअघि पनि सिर्सिया बन्दरगाह प्रिस्टिनले नेपाली कम्पनी भ्याली टर्मिनल प्रालिसँग ज्वाइन्ट भेन्चरमा संचालन गरेको थियो । पुरानो सम्झौता अवधि सकिएपछि नयाँ ठेक्काद्धारा संचालनको जिम्मा लगाइएको हो ।

सन् २००४ देखि सन्चालनमा आएको सिर्सिया सुक्खा बन्दरगाह नेपालको पहिलो सुक्खा बन्दरगाह पनि हो । ३८ हेक्टर क्षेत्रफलमा फैलिएको यो बन्दरगाहमा १ हजार ५८६ कन्टेनर राख्न मिल्छ ।

बन्दरगाहमा स्थापनाकालदेखि छुट्टै भन्सार कार्यालय रहेकामा चालु आर्थिक वर्षको सुरुवातसँगै वीरगन्ज भन्सार कार्यालयमा सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय गाभिएको छ । अब वीरगन्ज भन्सार कार्यालय मातहत नै यो बन्दरगाह रहनेछ ।


Back_to_top