काठमाडौं । सि–सेग्मेन्ट सेडान कार किन्न खोज्दै हुनुहुन्छ ? त्यसको लागि एक विकल्प हो स्कोडा र्यापीड । स्कोडाले भारतमा उत्पादन गरेको र्यापीड यसै पनि नेपाली सडकमा बाक्लो उपस्थिति रहेको कार हो ।
स्कोडाले आफ्नो मुख्य कम्पनी फक्सवागको भारत रणनीति २.० अन्तर्गत उत्पादन गरेको टिएसआई इन्जिन युक्त र्यापीड पहिलेभन्दा सस्तो मूल्यमा बजारमा आएको छ ।
यसअघि नेपालमा बिक्री हुँदै आएको र्यापीडमा १.६ लिटर इन्जिन दिइएको थियो । तर, अहिले आएको नयाँ र्यापीडमा १.० लिटर टर्बो इन्जिन उपलब्ध रहेको छ । यस्तोमा धेरैलाई लाग्न सक्छ पहिलेभन्दा सानो इन्जिनमा आएको र्यापीडले कस्तो पावर प्रदान गर्छ ।
टिएसआई इन्जिन यसअघिको १.६ लिटर इन्जिनको तुलनामा बढी पावरफुल रहेको छ भने पहिलेको तुलनामा माइजपनि बढी दिने छ । नयाँ इन्जिनले ११० बीएच पावर र १७५ एनएम टर्क प्रदान गर्छ । यसको टप स्पीड क्षमता १९५ किलोमिटर प्रतिघण्टा रहेको छ ।
नयाँ र्यापीड सुरक्षाको हिसावले उत्कृष्ट रहेको छ । कम्पनीले यसको सबै भेरियन्टमा कम्तीमा दुई एयर व्याग, रियर डिफगर, रिमोट कन्ट्रोल लकिङ, हाइट एड्जस्टेवल सिट, रियर हेड रेष्ट स्ट्याड जस्ता फिचर दिएको छ ।

१५ इन्चको ह्वील, हेलोजिन हेडल्याम्प, अगाडि र पछाडि आर्मरेष्ट, एड्जस्टेवल स्टेरिङ, २ डिन अडियो सिस्टम, ४ वटा स्पीकर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रियर एसि भेन्ट जस्ता फिचर रहेका छन् ।
विभिन्न ६ भेरियन्टमा नेपाली बजारमा बिक्री वितरण भइरहेको नयाँ र्यापीडमा कुन भेरियन्ट किन्दा ठिक होला भन्ने जिज्ञासा हुन सक्छ । यसलाई मेट्न हामीले प्रयास गरेका छौं ।
मूल्य
र्यापीडको एक्टीभ राइडर भेरियन्टको मूल्य ३४ लाख ९० हजार रुपैयाँ तोकिएको छ । त्यस्तै राइडर प्लसको मूल्य ३६ लाख ९० हजार र एम्बीसन भेरियन्टको मूल्य ४३ लाख ९० हजार रुपैयाँ रहेको छ ।
त्यसैगरि ओनेक्स भेरियन्टको मूल्य ४४ लाख ९० हजार रुपैयाँ छ भने स्टाइल भेरियन्टको मूल्य ५० लाख ९० हजार रुपैयाँ रहेको छ । त्यस्तै सबैभन्दा टप भेरियन्ट मोन्टे कार्लो भेरियन्टको मूल्य ५१ लाख ९० हजार रुपैयाँ रहेको छ ।
राइडर र राइडर प्लस

मूल्यको हिसावले राइडर प्लस, राइडरको तुलना २ लाख रुपैयाँ महंगो रहेको छ । दुई लाख रुपैयाँ बढी तिर्दा ग्राहकले ६.५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम पउने छन् । जुन राइडर भेरियन्टमा छैन । यसको अलावा राइडर प्लस भेरियन्टको इन्टेरियरमा कलर अप्सन र केही स्थानमा क्रोम हाइलाइट पाउन सकिन्छ ।
एम्बीसनमा कति फरक
राइडर प्लसको तुलनामा एम्बीसन ८ लाख रुपैयाँ महंगो रहेको छ । यति धेरै मूल्यमा अन्तर भएपछि गाडीमा दिइएका फिचरमा फरक हुनु स्वभाविक हो । यसमा ग्राहकले प्रोजेक्टर हेडल्याम्प पाउने छन् ।
एलइडी डिआरएलएस, अगाडि र पछाडि दिइएको फगल्याम्प, रिमोटबाट चलाउन मिल्ने पावर विन्डो, १५ इन्छको अलोय ह्वील, ड्राइभर सिट हाइट घटाउन बढाउन मिल्ने सुविधा, पावर फोल्डीङ विङ्ग मिरर, स्टेरिङ माउन्टेड अडियो कन्ट्रोल, लेदरले ढाकिएको गियर नव, डिजिटल मल्टी इन्फर्मेशन डिस्प्ले जस्ता फिचर थप पाउन सकिन्छ ।
एम्बीसन भन्दा कति फरक ओनेक्स
एम्बीसनको तुलनामा १ लाख रुपैयाँ मूल्य बढी रहेको ओनेक्समा धेरै फिचर बढी पाउन सकिदैन । यसमा एम्बीसनको तुलनमा अलि ठूलो १६ इन्चको अलोय ह्वील, फ्ल्याट बटम स्टेरिङ जस्ता फिचर पाउन सकिन्छ ।
स्टाइलमा कति फरक
ओनेक्सभन्दा ६ लाख रुपैयाँ महंगो रहेको र्यापीड स्टाइल भेरियन्टमा ८ इन्चको इफोटेन्टमेन्ट सिस्टम दिइएको छ । अटोमेटिक हेडल्याम्प, अटोमेटिक वाइपर, रियर पार्किङ क्यामेरा, अटो डिमिङ इन्साइड रियर भ्यू मिरर, क्याविनमा एम्बीयन्ट लाइट, क्रुज कन्ट्रोल, कुल्ड ग्लोबबक्स, फरक फरकको इन्टेरियर कलर यसमा छनोट गर्न पाइन्छ ।
के छ मोन्टे कार्लो भेरियन्टमा

मोन्टेकालो भेरियन्टमा कस्मेटिक परिमार्जन बाहेक थप फिचर उपलब्ध रहेको छैन । यसमा सबै फिचर स्टाइल भेरियन्टमा उपलब्ध रहेको नै हो । व्ल्याक आउट ग्रिल, रुफ र बुट लिप स्पोइलर, ड्यूल कलर अलोय ह्वील, क्याविनमा रातो बत्ति, स्टेरिङ लगायतका क्याविनमा मोन्टेकार्लोको ट्याग दिइएको छ ।
कुन किन्दा ठिक ?
आवस्यक फिचर हेर्दा राइडर प्लस उत्कृट भेरियन्ट मान्न सकिन्छ । यदि तपाई ८ लाख रुपैयाँ बढी तिरेर एम्बीसन किन्न चाहनु हुन्छ भने आधुनिक कारमा पाइने सबै फिचर यसमा पाउन सक्नु हुन्छ ।
कुन किन्ने भन्ने तपाईको आवश्यकता र खर्च गर्न सक्ने अवस्थामा भर पर्छ । यद्यपी नयाँ र्यापीड टिएसआईको राइडर प्लस र एम्बीसन हाम्रो सिफारीस भेरियन्ट हुन् ।


