महँगो मूल्य र कमजोर पूर्वाधारले थलिएको ‘स्काइवेल’, नयाँ डिलरले बचाउला शाख ?

काठमाडौं । महँगो मूल्य र कमजोर पूर्वाधारको कारण स्काइवेल नेपालमा संघर्ष गरिरहेको छ । नेपालमा बिक्री सुरू भएको ३ वर्ष पुग्नै लाग्दा कम्पनीले डिलर पनि परिवर्तन गरेको हो ।

आधिकारिक बिक्रेता परिवर्तन ले नै स्काइवेलको बिक्री कस्तो छ भन्ने देखाउँछ । स्काइवेलका कार ल्याएर बिक्री थालेको जी मोटर्स बजारको लागि नयाँ कम्पनी भने थिएन । उसले विभिन्न ब्राण्डका गाडीको डिलर लिएर काम गरिसकेको थियो । अनुभवि व्यवस्थापकहरुले संचालन गरेको भए पनि ब्राण्डले पर्फमेन्स नगर्दा आयात ठप्प भएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा ४१ युनिट स्काइवेलका ईटी फाइभ र बीई ११ एसयूभी नेपाल आएको थियो । त्यसमा सबैभन्दा ठूलो हिस्सा ईटी फाइभको थियो । १ करोड १५ लाख रुपैयाँ मूल्य तोकेर बिक्री गरिएको ईटी फाइभ पहिलो वर्ष ३२ युनिट आयात भएको थियो । पछि कम मूल्यको बीई ११ सोही आर्थिक वर्षमा ९ युनिट आयात भयो ।

आर्थिक वर्ष २०८१/८२ मा ८० युनिट बीई ११ मोडल आयो । त्यसपछि कम्पनीले कुनै पनि मोडल नेपाल ल्याएको छैन ।

उच्च मूल्यको ईभी खरिद गर्ने उपभोक्ताले ब्राण्डको विश्वसनीयता, बिक्रीपछिको सेवा, स्पेयर पाट्र्सको उपलब्धता र पुनर्बिक्री मूल्यलाई समेत महत्वपूर्ण आधार बनाउने गर्छन् । नयाँ ब्राण्डका लागि यही क्षेत्रमा विश्वास निर्माण गर्नु सबैभन्दा ठूलो चुनौती बन्ने गरेको छ ।

स्काइवेलका उत्पादन प्राविधिक रूपमा कमजोर भएर बजारमा असफल भएको निष्कर्ष निकाल्नुभन्दा पनि यसको मूल्य, ब्राण्ड पहिचान र बिक्रीपछिको नेटवर्कले उपभोक्ताको अपेक्षा पूरा गर्न नसकेको देखिन्छ ।

यसबीच चिनियाँ कम्पनीले जी मोटर्ससँगको आधिकारिक सम्बन्ध अन्त्य गरिसकेको छ । अब स्काइवेलले नेपालमा नयाँ आयातकर्तामार्फत बजारमा पुनः प्रवेश गर्ने तयारी गरेको बताइएको छ । नेपालमा स्काइवेलको आधिकारिक बिक्रेताका रूपमा एलआरआर ग्रुप आउन लागेको छ ।

उत्पादनभन्दा ठूलो कुरा बजार रणनीति

नेपालमा ईभीको बजार तीव्र गतिमा विस्तार भइरहेको भए पनि उपभोक्ताको रोजाइ स्पष्ट रूपमा परिवर्तन भइरहेको छ । ग्राहकले अहिले गाडीको डिजाइन र प्रविधिसँगै मूल्य, रेन्ज, ब्याट्री, चार्जिङ, स्पेयर पाट्र्स, सर्भिस नेटवर्क र पुनर्बिक्री मूल्यलाई समेत उत्तिकै महत्व दिन थालेका छन् ।

त्यसैले बजारमा सफल हुन ब्राण्डले आफ्नो उत्पादनलाई स्थानीय बजारको आवश्यकता र उपभोक्ताको क्रयशक्तिसँग मिलाउन सक्नुपर्छ । त्यसका साथै बलियो डिलर नेटवर्क, प्रतिस्पर्धी मूल्य, पर्याप्त स्पेयर पाट्र्स र विश्वासिलो बिक्रीपछिको सेवा आवश्यक हुन्छ ।

अहिलेको बजारमा साना र कम मूल्यका ईभी मात्र होइन, ठूला र स्थापित ब्राण्डसमेत बिक्रीको दबाबमा पर्न थालेका छन् । यसको अर्थ नेपाली ईभी बजारमा प्रतिस्पर्धा अब केवल ‘कति ब्राण्ड आए’ भन्नेमा सीमित छैन । कुन ब्राण्डले उपभोक्ताको आवश्यकता बुझेर सही उत्पादन, सही मूल्य र सही बिक्री रणनीति ल्याउँछ भन्ने विषय महत्वपूर्ण बन्दै गएको छ ।

स्काइवेलको कथा यही बदलिँदो बजारको एउटा उदाहरण हो । अब नयाँ आयातकर्तामार्फत स्काइवेल र सम्भावित रूपमा अन्य ब्राण्डले नेपालमा आफ्नो रणनीति कसरी परिवर्तन गर्छन्, त्यो भने आगामी दिनमा हेर्न बाँकी छ ।

नेपालको ईभी बजारमा ब्राण्ड थपिँदै जाने क्रम जारी छ । तर, बजारमा टिक्ने ब्राण्डको संख्या भने सबैभन्दा बढी बिक्री गर्ने होइन, नेपाली उपभोक्ताको आवश्यकता बुझेर सही मूल्यमा सही उत्पादन र बलियो बिक्रीपछिको सेवा दिन सक्ने ब्राण्ड नै हुने देखिन्छ ।


Back_to_top