साना कारको बिक्रीमा उछाल, मासिक १८ हजार किस्तामै किन्न पाइने

काठमाडौं । विश्वभर सवारीसाधनको मासिक किस्ता निकै सहज हुनेगरी तय गरिएको हुन्छ । सरकारको चाहना नै आमनागरिकले पैसा कमाएपछि खर्च गरोस् र त्यसले अर्थतन्त्रलाई थप गतिशिल बनाओस् भन्ने हुन्छ । नेपालमा अर्थतन्त्र गतिशिल बनाउन उपभोक्तालाई कमाउन र खर्च गर्न प्रेरित गर्ने काम सरकारले कहिल्यै गरेको पाइदैन ।

विद्युतीय कारको आयात वृद्धिसँगै विभिन्न मोडलहरु नेपाल आउन थाले । अहिले चीनबाट मात्रै एक दर्जन बढी ब्राण्ड नेपाल आइसकेका छन् भने त्यति नै संख्यामा आउने क्रममा छन् ।

विशेषगरी थोरै खर्च बढाएर कार किन्न पाए किन्थे भन्ने ग्राहक बजारमा ठूलै संख्यामा छन् । तर, विद्युतीय साना कारको पर्फमेन्स कस्तो हुन्छ होला भन्ने शंकाकै कारण धेरैले किन्न आँट गरेका छनैनन् ।

यहि परिबेसमा अहिले साना विद्युतीय कार मोडल बढ्दै गएका छन् । सेरेस ई–१, एमजी कोमेट, विलिङ एयर, टाटा टियागो ईभी जस्ता मोडलले बजेट कार चाहनेको आवश्यकता पुरा गर्दै आएको छ । त्यसैले नेपाल आएको ५ महिनामा नै टियागोले एक हजार यूनिटको बिक्री आँकडा पुरा गरिसकेको छ ।

एमजी कोमेटले पनि १५० यूनिट हाराहारी बिक्री गरेको छ । साथै, सेरेस ई–१ पनि छोटो समयमा ५० भन्दा बढी यूनिट आयात भएको छ । विलिङ पनि अहिले राम्रै संख्यामा सडकमा देख्न सकिन्छ ।

मासिक किस्ता १८ हजारबाट सुरु

विद्युतीय कारको मूल्य नै १३ लाख ९९ हजारबाट सुरु भएको कारण यसको मासिक किस्ता पनि कम पर्नु स्वभाविक हो । अझ, सामान्य स्कुटर किन्ने रकम डाउन पेमेन्ट गरेर किन्न पाइने र बाँकी रकम पेट्रोल हाल्ने खर्चमा थोरै थपेर तिर्न पाइने भएको कारण धेरैको आकर्षण यस्ता ईभीमा भएको हो ।

सेरेस ई–१ को मूल्य १३ लाख ९९ हजार रुपैयाँ छ । यसलाई किन्ने मानिसले २ लाख ७९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट गर्नुपर्छ । अहिले बैंक ब्याजदर सस्तो हुँदै गएको र ७ वर्षसम्म यस्ता गाडीलाई कर्जा सुविधा उपलब्ध हुने भएको कारण मासिक १८ हजार ५०० रुपैयाँ किस्ता तिर्नेगरी खरिद गर्न सकिन्छ ।

एमजीले पनि १७ लाख ९९ हजारबाटै कामेट उपलब्ध गराएको छ भने टाटाले २१ लाख ९९ हजार र विलिङले २५ लाख ९९ हजार मूल्यमा साना कार उपलब्ध गराएको छ । यी मध्ये टाटा भने फ्यामली ह्याचब्याक डिजाइनमा उपलब्ध भएकै कारण धेरै राम्रो संख्यामा बिक्री हुन सफल भएको हो ।


Back_to_top