न्यूरोडमा स्मार्ट पार्किङ बिहीबारबाट सुरु, यसरी गर्नुस् निःशुल्क पार्किङ

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार अर्थात १५ जेठदेखि स्मार्ट पार्किङ सञ्चालनमा ल्याउने भएको छ । बिहीबारबाट सुरु हुने निःशुल्क पार्किङका लागि महानगर र पार्किङ सञ्चलाक कम्पनी ह्वील्स ट्रुली योर्स ड्रिमबीच आज सम्झौता भएको हो । 

सुरुको १ साता स्मार्ट पार्किङलाई परिक्षणको रुपमा निःशुल्क गरिने ह्वील्स ट्रुली योर्स ड्रिमका आइटी इन्जिनियर हरिस अग्रवालले जानकारी दिए । 

उनका अनुसार यही मंगलबारदेखि ‘पार्क केटीएम’ एप डाउनलोड गरि आफ्नो पायक पर्ने ठाउँमा निःशुल्क पार्किङ बुक गर्न सकिने छ । तर, एक हप्तापछि भने पार्किङ गर्ने सवारीधनीले शुल्क तिर्नुपर्ने छ । पार्किङ शुल्क भने एक सातापछि मात्रै सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।

एक साता निःशुल्क पार्किङले सर्वसाधनलाई स्मार्ट पार्किङको प्रयोगमा सहयोग हुने उनले बताए । ‘हामीले यो सर्वसाधारणमा बानी पार्नका लागि १ साता निःशुल्क पार्किङ गर्न दिन लागेका हौँ । यसले कसरी, कति समय, पार्किङ गर्न सकिन्छ भन्ने विषयमा सर्वसाधारणलाई सचेत गराउने छ,’ अग्रवालले मेरोअटोसँग भने । 

सुरुमा ५ स्थानमा पार्किङ निःशुल्क गर्न लागिएको उनले जानकारी दिए । उनका अनुसार रामेस्वरम, विसाल बजार, खिचापोखरी, धर्मपथ र इन्द्रचोकमा पार्किङ सञ्चालनमा आउने छ ।

यस्तै पार्किङका लागि बुकिङ १५ मिनेट अघि मात्र गर्न पाइने छ । १५ मिनेटसम्म पनि सवारी पार्किङमा नआए बुक स्वतः रद्द हुनेछ । सो पार्किङ स्थानमा सक्दो छोटो समयका लागि सवारी राख्न आग्रह सहित सबैलाई सवारी पार्किङको सुविधाका प्रदान गरिने छ  । 

विहान ९ बजेदेखि राति ९ बजेसम्म १२ घण्टा स्मार्ट पार्किङ सञ्चालन हुनेछ । सेन्सर जडित सो स्मार्ट पार्किङका लागि आइफोन र एन्ड्रोइड मोबाइलमा पार्क केटीएम एप डाउनलोड गरेर पार्किङका लागि बुकिङ गर्न सकिने छ  । 

बुकिङ गरेको समय, पार्किङ गरिएको स्थान र समय, पार्किङ शुल्कजस्ता विवरण क्युआर कोडबाट पनि हेर्न सकिने अग्रवालले जानकारी दिए । तर, बिहीबारदेखि १ साताका लागि भने निःशुल्क पार्किङ गरिनेछ  ।

विभिन्न स्थानमा राखिएका स्मार्ट पार्किङमा एकपटकमा करिब ८ सय वटा मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने इञ्जिनियर अग्रवालले जानाकारी दिए ।


Back_to_top