काठमाडौं । चिनियाँ ब्राण्ड स्मार्टले यूरोपियन बजारलाई ध्यानमा राखेर नयाँ मिड-साइज एसयूभी ह्यासट्याग-फाइभ देखाएको छ । कम्पनीले सन् २०२५ को सेकेन्ड क्वाटरबाट बिक्री सुरु गर्ने योजनासहित यसलाई देखाएको हो ।
लग्जरी कारमा यूरोपियन जाइन्ट मानिने मर्सिडिज र चिनियाँ कम्पनी जिलीले संयुक्त लगानीमा सुरु गरेको स्मार्ट ब्राण्ड नेपालमा समेत बिक्री सुरु हुँदैछ । नेपालमा सिजी मोटर्सले स्मार्टको ह्यासट्याग थ्री मोडल ल्याइसकेको छ ।
कम्पनीले नयाँ एसयूभी अष्ट्रेलियामा देखाएको छ । अष्ट्रेलिया पनि नेपाल जस्तै राइट ह्याण्ड ड्राइभ गाडी चलाउने देश भएको कारण ह्यासट्याग-फाइभ पनि चाँडै नेपाल आउन सक्ने अनुमान गर्न सकिन्छ । कम्पनीले चीनमा भने यसलाई सन् २०२४को अन्तिम तिरबाटै बिक्री सुरु गर्नेछ ।
यूनिक बडी डिजाइनमा आउन लागेको ह्यासट्याग-फाइभले टेक्नोलोजी प्रयोगको मामलामा पनि नयाँ मानक स्थापित गर्ने बताइएको छ । हाइट एड्जस्टेवल एयर सस्पेन्सन प्रयोग हुने यो एसयूभी ‘रक क्रुजर’ देखिन्छ ।
स्मार्टले यसमा २० वटा स्पीकर दिएको छ भने पुरै बेडमा परिवर्तन गर्न मिल्ने सिटको प्रयोग गरेको छ । यसमा पाँच प्रकारका एशोसरिज थप गर्न सकिने छ । जसमा अप्सनल एड्भेन्चर प्याक, लो-प्रोफाइल रुफ र्याक, इन्ट्रीगेटेड लाइटबार पनि पाउन सकिन्छ ।
यसको रियर ह्वी ड्राइभ अप्सनको विषयमा अहिलेसम्म कुनै जानकारी बाहिर आएको छैन । तर, अल ह्वील ड्राइभ मोडलमा भने ४७५ किलोवाटको मोटर रहनेछ । कम्पनीले यसमा १०० किलोवाट आवर क्षमताको ब्याट्री दिनेछ । उक्त ब्याट्रीलाई फुल चार्जमा ५८० किलोमिटरसम्म चलाउन सकिनेछ ।
स्मार्टले ८०० भोल्ट आर्किटेक्चरमा तयारपारेको फ्यागसिप एसयूभीले चार्जगर्न पनि ३५० किलोवाट क्षमताको डिसी चार्जर सपोर्ट गर्छ । यसलाई १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केबल १५ मिनेट लाग्छ ।
यसको इन्टेरियरमा दुई वटा २५.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, १०.३ इन्चको इन्फर्मेशन डिस्प्ले दिएको छ । कारको विभिन्न स्थानमा ३४ ठाउँमा स्टोरेज पाउन सकिन्छ ।