काठमाडौं । कुनै पनि बस्तु उत्पादन गर्ने धेरै भएसँगै बजारमा खरो प्रतिस्पर्धा हुनु स्वाभाविक हो । चीनमा पनि कार उत्पादन गर्ने कम्पनीहरु बीच ‘कट थ्रोट’ कम्पीटिसन चलिरहेको देखिन्छ ।
प्रतिस्पर्धामा सहभागी बीवाइडी, चेरी र जिलीका उत्पादन नेपाली बजारमा उपलब्ध छन् । हामी जस्तो सवारी साधन आयात गरेर बिक्री गर्ने देशलाई चिनियाँ उत्पादक बीचको प्रतिस्पर्धाले फाइदा नै धेरै दिन्छ । पछिल्ला दिनमा चलिरहेको प्राइस वार र टेक्नोलोजी वारको फाइदा नेपाली उपभोक्ताले पनि उठाउन पाएका छन् ।
सवारी साधनको दुर्घटनाबाट निकै हैरान हाम्रो जस्तो देशलाई सुरक्षा केन्द्रित सफ्टवयरको विकास निकै महत्वपूर्ण छ । तर, यस्ता सफ्टवयरले काम गर्न सडकमा ट्राफिक साइनहरु हुनुपर्छ । हाम्रा कतिपय सडकमा धेरै किसिमका साइनहरु उपलब्ध छैनन् ।
विशेषगरी चिनियाँ कम्पनी बीवाइडी ग्रुप, जिली ग्रुप र चेरी ग्रुप बीच चीनमै कडा प्रतिस्पर्धा चलिरहेका छन् । यी कम्पनी बीच गाडी उत्पादन, ब्याट्री उत्पादन र सफ्टवयर उत्पादनमा टक्कर गरिरहेका छन् ।
बीवाइडीले गड्स आई सफ्टवयर र डिजेआईसँगको सहकार्यमा गाडीमा ड्रोनको प्रयोग सुरु गरेसँगै जिलीले पनि जी–पाइलट सफ्टवयर विकास गरेको थियो । यी दुई बीच सफ्टवयरमा प्रतिस्पर्धा चलिरहेको समयमा चेरीले पनि बीवाइडीको जस्तै अन भेहिकल ड्रोन सिस्टम दिएको छ ।
चेरीले फ्लाई आई नामबाट ल्याएको ड्रोन सिस्टम गाडी भित्रबाटै नियन्त्रण गर्न सकिन्छ । चेरीले आफ्नो एक्सीड ब्राण्डमा प्रयोग गर्न लागेको फ्लाई आई सिस्टमलाई एउटा बटम थिचेको भरमा उडाउन सकिन्छ । साथै, इन्टेलिजेन्ट फलोइङ, रियल टाइम इमेज ट्रान्समिसन, इन्टेलिजेन्ट पार्किङ स्पेस आइडेन्टीफाइ र वान कि रिटर्न टु ह्याङ्गर फिचर उपलब्ध गराएको छ । बीवाइडीले यस्तै किसिमको फिचरसहित डिजेआईको ड्रोन सिस्टम प्रयोग गरेको थियो ।
बीवाइडी, चेरीको इलेक्ट्रीक ब्राण्ड ओमोडा–जेको र जिली ग्रुपको जिकर, प्रोटोन र रेडारा जस्ता ब्राण्ड नेपालमा उपलब्ध छन् । यी सबैमा नयाँ टेक्नोलोजी अपग्रेड भएर आउने अनुमान गर्न सकिन्छ ।

