काठमाडौं । श्रीलंकाले इन्धन बचत गर्न प्रत्येक बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
अमेरिका-इजरायल र इरान युद्धपछि विश्वभर बढिरहेको इन्धन संकटलाई सामना गर्न श्रींलकले सातामा थप एक दिन सार्वजनिक बिदा दिने भएको हो ।
‘हामीले सबैभन्दा खराब अवस्थाको लागि तयारी गर्नुपर्छ, तर सबैभन्दा राम्रोको आशा पनि गर्नुपर्छ,’ श्रीलंकाका राष्ट्रपति अनुर कुमारा दिसानायकेले सोमबार वरिष्ठ अधिकारीहरूसँगको आपतकालीन बैठकमा भने।
श्रीलंकामा शनिबार र आइतबार नियमित रुपमा सार्वजनिक बिदा हुन्छ । थप एक दिन बिदा दिए पछि अब सातामा चार दिन मात्रै काम हुनेछ ।
सरकारी कार्यालयहरू लगातार तीन दिन बन्द नहोस् भनेर अतिरिक्त बिदाका लागि शुक्रबारको सट्टा बुधबार रोजिएको हो।
सरकारी अधिकारीहरूका अनुसार अब विद्यालय र विश्वविद्यालयहरू पनि साताको चार दिन मात्र खुल्नेछन् । तर, स्वास्थ्य र आप्रवासनजस्ता अत्यावश्यक सेवा दिने सरकारी निकायहरूमा भने लागू हुने छैन।
अब सवारी चालकहरूले राष्ट्रिय इन्धन पासका लागि दर्ता गर्नुपर्नेछ । जसले व्यक्तिले किन्न पाउने इन्धनको मात्रा सीमित गर्दछ।
यसले केही श्रीलंकालीहरूमा असन्तुष्टि पैदा गरेको छ । किनकि उनीहरूका अनुसार निजी कारका लागि १५ लिटर र मोटरसाइकलका लागि ५ लिटरको कोटा निकै कम छ।यो नियम यसअघि पहिलो पटक सन् २०२२ मा देशको सबैभन्दा खराब आर्थिक संकटका बेला लागू गरिएको थियो ।
इरानले विश्वकै प्रमुख मध्ये एक स्ट्रेट अफ हर्मुजा जलमार्गमा कडाइ गरेपछि एशियाली देशहरूमा इन्धन संकट गहिरिँदै गएको छ । यसमार्गबाट विश्वको दैनिक मागको करिब २० प्रतिशत इन्धन ढुवानी हुन्छ । जसको ९० प्रतिशत बढी हिस्सा एशियाली देशमा रहेको छ ।
गत महिनाको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि तेलको मूल्य तीव्र रूपमा बढेको छ । र हाल प्रति ब्यारेल करिब १०० डलरको हाराहारीमा पुगेको छ।
एसियाका अन्य भागहरूमा पनि सरकारले विभिन्न मितव्ययी उपायहरू अपनाएका छन्। थाइल्याण्डमा सरकारले एयर कन्डिसनरको प्रयोग घटाउन मानिसहरूलाई औपचारिक कोटको सट्टा छोटो बाहुला भएको टिसर्ट लगाउन आग्रह गरिरहेको छ। म्यानमारमा निजी सवारी साधनहरूलाई नम्बर प्लेटका आधारमा पालैपालो दिनमा मात्र चलाउन अनुमति दिइएको छ।
बंगलादेशले विश्वविद्यालयहरूमा रमजान बिदा अगाडि सारेको छ । र ऊर्जा बचत गर्न देशभर योजनाबद्ध रूपमा बिजुली कटौती लागू गरेको छ।
फिलिपिन्समा केही सरकारी कार्यालयहरूले कर्मचारीलाई हप्तामा कम्तीमा एक दिन घरबाट काम गर्न अनिवार्य गरेका छन् । जबकि राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले सार्वजनिक क्षेत्रमा अनावश्यक यात्रामा प्रतिबन्ध लगाएका छन्।
भियतनामले पनि इन्धन बचत गर्न नागरिकहरूलाई सकेसम्म घरमै बस्न कडा रूपमा प्रोत्साहन गरिरहेको छ। सरकारले मानिसहरूलाई “साइकल चलाउन, सँगै सवारी प्रयोग गर्न, सार्वजनिक यातायात प्रयोग गर्न, र आवश्यक नभएसम्म निजी सवारी साधन प्रयोग नगर्न” आग्रह गरेको छ।

