काठमाडौं । लग्जरी भ्यान भन्ने बित्तिकै ठूलो गाडी भन्ने तपाईंको दिमागमा परिसक्यो होला । विगतमा मल्टि पर्पस भेहिकल (एमपीभी) का रूपमा बिक्री भएका धेरै गाडीले खासै व्यापार गरेको पाइन्न ।
एसआरएम ब्राण्डको ७ सिट क्षमताको लग्जरी भ्यानको आधिकारिक बिक्री सुरू भएको छ । विशाल ग्रुप अन्तर्गतको पूजा कन्स्ट्रक्सन नेपाल प्रालिले आधिकारिक आयातकर्ता र बिक्रेताको रूपमा काम गर्दै आएको ७ सिटे एसआरएमको भ्यान नेपाली बजारको विल्कुलै नयाँ सेग्मेन्ट बन्न सक्छ ।
अहिले ११ सिट क्षमताको माइक्रो भ्यानकै रूपमा बिक्री हुँदै आएको गाडीमा सिट संख्या घटाउने र केही प्रिमियम कुरा थप गरेर ७ सिट क्षमताको लग्जरी भ्यान ल्याएको हो । नयाँ भ्यानलाई लग्जरी भने सिटले बनाएको हो ।
कम्पनीले पर्यटन क्षेत्रलाई मध्येनजर गर्दै ल्याएको नयाँ भ्यानमा अगाडि चालकसहित दुई सिट, सेकेण्ड रोमा दुई वटा क्याप्टेन सिट र पछाडिको थर्ड रोमा ३ जना बस्ने बेन्च सिट दिइएको छ । पछाडिको बेन्च सिटलाई आवश्यकता अनुसार पूरै फोल्ड गर्न सकिन्छ । यात्रुको आवश्यकता अनुसार ढल्काउन मिल्ने भएको कारण यसलाई यात्रुको नजरबाट लग्जरी भ्यान भन्न मिल्छ ।
यसमा १५०० लिटरको विशाल बुट स्पेश दिइएको छ । पर्यटकको ७ वटा सुटकेस सजिलै राखेर हिँड्न मिल्छ । यदि, त्योभन्दा बढीको स्पेश चाहिँदा थर्ड रो फोल्ड गर्न सकिन्छ । थर्ड रो फोल्डगर्दा बुट स्पेश २७०० लिटर पुग्छ ।
के-के छन् फिचर्स ?
पूजा कन्ट्रक्सनले ३९ लाख रुपैयाँ ‘इन्टोडक्टरी प्राइस’ भनेर यसलाई सार्वजनिक गरेको छ । मूल्यका हिसाबले निकै आकर्षक लाग्ने भ्यानमा प्रिमियम सिट दिइएको छ ।
सुरक्षाको लागि अगाडि दुई एयरब्याग, सबै सिटमा सिटबेल्ट, हिल एसिस्ट कन्ट्रोल, इबीडी सहितको एबीएस, फ्रन्ट भ्यू क्यामेरा र रियर भ्यू क्यामेरा दिइएको छ । चाइल्ड सेफ्टी लक, हेडल्याम्प रेन्ज एड्जस्ट जस्ता फिचर्स भएको कारण यसलाई सुरक्षीत भ्यान मान्न सकिने कम्पनीको दावी छ ।
किलेस इन्ट्री, डिजिटल इन्फर्मेसन डिस्प्ले, १४ इन्चको अलोय ह्वील, १८० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, अगाडि चक्कामा डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक उपलब्ध छ ।

सस्पेन्सनको कुरागर्दा यसमा अगाडि म्याकर्फेसनको स्ट्रट र पछाडि सिक्स लिफ स्प्रीङ दिइएको छ । इलेक्ट्रीक पावर स्टेरिङ उपलब्ध भ्यानको टर्निङ रेडियस केबल ५.५ मिटर मात्रै छ ।
ब्याट्री र मोटर
एसआरएम सेभेन सिटर लग्जरी भ्यानमा सीएटीएलले उत्पादन गरेको ४१.८६ किलोवाट आवरको लिथियम आयोन फस्फेस्ट ब्याट्री दिइएको छ । सिंगल चार्जमा एनइडीसी रेन्ज ३०० किलोमिटर भनिए पनि यसले अनरोडमा २५० किलोमिटर आसपास रेन्ज दिने अनुमान गर्न सकिन्छ ।
कम्पनीले यसमा ५० किलोवाटको मोटर दिएको छ । पीकटर्क भने २२० न्युटन मिटर जेनेरेट गर्छ । एसी र डीसी दुवै चार्जर सपोर्ट गर्ने भ्यानलाई आफ्नो घर वा ग्यारेजमा एसी चार्जरले ६ घण्टामा चार्ज गर्न सकिन्छ । डीसी चार्जरको प्रयोग गर्दा भने ८० प्रतिशतसम्म चार्ज गर्न ४५ मिनेट लाग्नेछ । चार्जको लागि पूजा कन्ट्रक्सनले देशभर ७५ स्थानमा चार्जर लगाएको छ । जीबीटी चार्जर सपोर्ट गर्ने भएको कारण देशको कुनै पनि कुनामा चार्जर नपाउने समस्या हुँदैन ।
साइज
साइजको आधारमा पनि ७ सिटे भ्यान राम्रो छ । यसको लम्बाइ ४४९५ एमएम, चौडाइ १६८० एमएम र उचाइ १९९० एमएम छ । यसमा २९२५ एमएम लामो ह्वीलबेस छ । प्योर ईभी भएको कारण ब्याट्री फ्लोरमा राखिएको छ । फ्याट फ्लोरको कारण गाडी निकै ‘स्पेसियस’ लाग्छ ।

