काठमाडौं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)द्वारा नेपालमा संचालित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) परियोजना अन्तर्गत ४० किलोमिटर सडक निर्माणको ठेक्का नेपाली कम्पनीले पाएको छ ।
एमसीसी अन्तर्गत दाङको भालुबाङदेखि बाँकेको शिवखोलासम्म ७७ किलोमिटर सडक स्तरोन्नति हुँदैछ । सोमध्ये दाङको धानखोला-लमही ४० किलोमिटर सडकको ठेक्का शर्मा-कुमार जेभीले पाएको हो ।
उक्त सडक निर्माणका लागि सन् २०२४ अक्टोबरमा ग्लोबल टेन्डर आह्वान गरिएको थियो । जसमा भारत, युक्रेनकासहित ११ कम्पनीले आवेदन दिएका थिए । तीमध्ये प्राविधिक र वित्तीय मूल्यांकनबाट शर्मा-कुमार छनोट भएको हो ।
शर्मा-कुमार जेभी पूर्ण नेपाली स्वामित्वको जेभी कम्पनी हो । यसमा शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिको संयुक्त लगानी छ ।
शर्मा-कुमार जेभीले २ करोड ८ लाख अमेरिकी डलर (करिब ३ अर्ब नेपाली रुपैयाँ) भ्याटबाहेकमा ठेक्का पाएको हो । सोमबार एमसीए नेपाल र कम्पनी बीच ठेक्का सम्झौता हुँदैछ ।
यो सडक नेपालमै पहिलो पटक पाइलट प्रोजेक्टमा रुपमा फुलडेप्थ रिक्लेमेसन एण्ड सुपरपेव (एफडीआर) अस्फास्ट प्रविधिमा निर्माण हुँदैछ ।
एमसीसी परियोजना अन्तर्गत नेपालमा विद्युत् प्रसारण लाइन, सबस्टेसन र सडक सुधार आयोजना संचालन भइरहेछ । जसमा ३१५ किलोमिटर ४०० केभीको डबल सर्किट विद्युत् प्रसारण लाइन, ३ वटा ४०० केभीको सबस्टेसन र दाङको भालुबाङदेखि बाँकेको शिवखोलासम्म ७७ किलोमिटर सडक स्तरोन्नति गरिने हुँदैछ । प्रसारण लाइन र सबस्टेसन निर्माणको ठेक्का लागिसकेको छ ।
एमसीसीको ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ५० लाख अमेरिकी डलर योगदानमा यी आयोजना संचालन हुँदैछ ।
५ वर्ष भित्र सम्पन्न गर्ने गरी एमसीसी कम्प्याक्ट २०८० भदौ १३ गतेदेखि पूर्णरुपमा लागू (इन्ट्रि इन टु फोर्स-ईआइएफ) भएको थियो ।

