चालकलाई कारबाहीले मात्रै पुग्दैन, सामाजिक बहिस्कारमा परिन्छ भन्ने डर हुनुपर्छ : एसएसपी भट्टराईको अन्तर्वार्ता

काठमाडौं । कोभिड १९ को संक्रमण कम हुँदै गएसँगै उपत्यकामा ट्राफिक जाम बढ्दो क्रममा रहेको छ । यस बीचमा उपत्यका ट्राफिक प्रमुखको भूमिकामा एसएसपी जनक भट्टराई आएका छन् । बढ्दो दुर्घटना र ट्राफिक जाम कम गर्न उनले कस्ता योजना तयार गरेका छन् । साथै, भोलिको दिनमा दीर्घकालीन महत्वका कस्ता योजना बुनेर जिम्मेवारीमा आएका छन् भन्ने विषयमा एसएसपी जनक भट्टराईसँग मेरोअटोले गरेको  कुराकानीको सम्पादित अंश :

उपत्यकाको ट्राफिक व्यवस्थापनको लागि तपाईंले कस्ता योजना तयार गर्नु भएको छ ?

कोभिड १९ को कारण भएको लकडाउनले सडकमा सवारीसाधनको चाप कम थियो । अब लगभग पहिलेकै अवस्थामा गाडी गुड्न थालेका छन् । मानिसहरूको आवतजावत बढेसँगै ट्राफिकमा समस्या देखिन थालेको छ । हाम्रो अगाडि जाम हुन नदिने र दुर्घटना कसरी कम गर्ने भन्ने चुनौती छ । यसलाई योजना नै निर्माण गरेर हामी काम गर्दै आएका छौं । पुराना कामलाई परिमार्जन सहित अगाडि बढाउने र नयाँ योजना थप गर्दै जाने भन्ने हो ।

त्यसको लागि सबैभन्दा महत्वपूर्ण विषय भनेको पूर्वाधार हो । जसमा सडकको अवस्था, सडकको क्षेत्रफल, सडकमा हुनुपर्ने अन्य ट्राफिक व्यवस्थापनसँग सम्बन्धित पूर्वाधार निर्माण हो । पूर्वाधार बिना गाडीलाई सही तरिकाले संचालन गर्न सकिँदैन । अन्य देशमा पूर्वाधारले गाडीलाई गल्ती गर्नै दिँदैन । हामी कहाँ पूर्वाधारको कमजोरी छ । काठमाडौंका कोरिडोर र चोक चोकमा मात्रै चुस्त व्यवस्थापन गर्न सकियो भने जाम कम गर्न सकिन्छ । तर, समस्या पूर्वाधार हामीले निर्माण गर्ने होइन त्यसको लागि सरकारको अन्य निकायसँग समन्वय हुनु पर्छ ।

चालकले गल्ती गर्छ भने त्यसलाई सामाजिक प्रतिष्ठामा आँच आएको भान पार्न सकियो भने त्यसले उसलाई नियन्त्रणमा राख्न सक्छ । त्यसको लागि आजको आजै सबै काम हुन सक्दैन । नियम नमाने सामाजिक रुपमा तिरस्कृत हुने अवस्था आउँछ भन्ने विषय चालकलाई लाग्नु पर्छ ।

अर्को विषय प्रविधिमा विकास गर्दै जाने भन्ने छ । अहिले नै यही अवस्थाको पूर्वाधारमा प्रविधिको प्रयोग सम्भव छैन । अहिले हामी कम्तीमा ट्राफिक लाइटको प्रयोगलाई बढवा दिइरहेका छौं । हाम्रो आफ्नै पहलमा उपत्यकाका ९ स्थानमा ट्राफिक लाइट जडान गरेका छौं । सडक विभागले पनि त्यसमा काम गर्दैछ । यो पनि एक प्रकारको प्रविधिको प्रयोग हो । दुर्घटना, जाम जस्ता विषयलाई प्रविधिको कारण रोक्न सकिन्छ । त्यसमा अहिले कसरी काम गर्न सकिन्छ भनेर हामी अध्ययन गरिरहेका छौं ।

अर्को विषय सडकमा हुने पार्किङ रोक्नु पर्ने अवस्था छ । त्यसलाई कसरी रोक्ने भन्ने विषयमा प्रविधिको प्रयोग गर्नु पर्ने अवस्था छ । यो विषय तत्काल सबै प्रयोग गर्न सकिने अवस्था छैन । साथै, सेवाग्राहीलाई दिने सुविधा पनि प्रविधिको माध्यमबाटै दिनु पर्छ । त्यसमा पनि हामीले केही काम गरिरहेका छौं ।

हाम्रो अगाडि अर्को चुनौती भनेको कारबाही हो । अहिले हाम्रा सम्पूर्ण काम म्यानुयल हुने हुँदा गल्ती गर्ने सबैलाई ठाउँका ठाँउ कारबाही गर्न सक्ने अवस्था छैन । ट्राफिक नियम जानेका चालकले नै गल्ती गर्ने हुँदा यो झनै कठिन छ । उनीहरूलाई नियम मान्न लगाउने कानुनी व्यवस्था भनेकै जरिवाना हो । यसलाई कसरी कडाइका साथ लागू गराउने भन्ने विषयमा हामी काम गरिरहेका छौं ।

अन्त्यमा हामीले सडक सचेतनालाई जोड दिनुपर्ने अवस्था छ । चालकदेखि पैदल यात्रुसम्मलाई सडक सुरक्षाका विषयमा जनचेतना फैलाउनु पर्ने अवस्था छ । यसलाई कार्यान्वयन गर्न भोलियन्टर टिम नै निर्माण गरेर हामी काम गर्दै अगाडि बढेका छौं । मुख्यत पूर्वाधार, प्रविधि, कारबाही र जनचेतनालाई मिलाएर अगाडि बढाएर जानुपर्ने अवस्था छ ।

अहिलेको सडकमा देखिएका समस्यासँग जुध्न ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण हुन्छ । यस्तोमा सवारीसाधनको अनुपातमा ट्राफिक प्रहरीको संख्या अत्यन्त न्यून भयो भन्ने पनि सुनिन्छ । यथार्थमा अवस्था कस्तो रहेको छ ?

मैले अघि नै भने नि म्यानुयल्ली काम गर्दा जनशक्ति धेरै चाहिन्छ । बल्ल हामी ट्राफिक लाइटमा काम हुँदैछ । म्यानुयल काम गर्दा मानिस धेरै चाहिन्छ । चोकमा गाडी पास गराउने, रोकेर बसेकालाई लखेट्ने, मानिसको भीड मिलाउन जस्ता १०० वटा काम ट्राफिकले म्यानुयल्ली गरिरहेको छ । यस हिसाबले भन्दा ट्राफिक प्रहरीको संख्या कम भएको मान्नु पर्छ । तर, यो काम ओभर नाइट हुने विषय होइन । यसमा सरकारको सबै सरोकारवालाहरू मिलेर काम गर्दै अगाडि जानु पर्छ ।

ट्राफिकको आँखा छलरे निस्के भने ठूलो उपलब्धी हासिल गरे भन्ने मनोविज्ञान धेरै चालकमा रहेको देखिन्छ । यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ ?

चालकले गल्ती नगरे जाम र दुर्घटना हुँदैन । त्यसका लागि फेरि मैले अघि भने जस्तो पूर्वाधार, प्रविधि, कारबाही र जनचेतना जस्ता विषयमा काम गर्नुपर्छ । चालकले गल्ती गर्छ भने त्यसलाई सामाजिक प्रतिष्ठामा आँच आएको भान पार्न सकियो भने त्यसले उसलाई नियन्त्रणमा राख्न सक्छ । त्यसको लागि आजको आजै सबै काम हुन सक्दैन । नियम नमाने सामाजिक रुपमा तिरस्कृत हुने अवस्था आउँछ भन्ने विषय चालकलाई लाग्नुपर्छ ।

चालक अनुमति पत्र वितरण पारदर्शी नभएको भनेर यातायात कार्यालयसँग तपाईहरूको गुनासो सुनिएको थियो । अहिले मिल्यो ?

हामी सही मानिसलाई चालक अनुमति पत्र दिनुपर्छ भन्ने कुरामा कटिबद्ध छौं । यही विषय यातायात कार्यालयहरूलाई पनि हामीले भनेका हौ । सही मानिसले अनुमति पत्र पाउँदा सडक सभ्य हुन्छ । खराव चालक आए उसले दुर्घटना र जाम दुबै गराउँछ भन्ने हाम्रो भनाइ हो । त्यसैले प्रविधिको प्रयोग नै गरेर हामीले यातायात कार्यालयहरूसँग मिलेर सहकार्य गरिरहेका छौं ।

कोटेश्वर-कलंकी र कोटेश्वर-सूर्यविनायक सडकमा तीव्र गतिमा चल्ने सवारी साधनलाई कसरी अनुगमन गर्दै हुनुहुन्छ ?

२/४ वटा राडार गनको प्रयोग भएको छ । त्यसले मात्र पुगेन भनेर ठाँउ ठाँउमा कोनहरूको प्रयोग गरेर गति नियन्त्रण गरिरहेका छौं । टेक्नीकल्ली पनि कोटेश्वर–कलंकी बाटो चुनौती पूर्ण छ । सहरको बीचमा बनेको हाइवे जस्तो बाटोमा मानिसलाई नियन्त्रण र सवारी साधनको गति नियन्त्रण हाम्रो मुख्य चुनौती हो ।

जेब्रा क्रसिङ, बत्ती, रेलिङ, ओभर हेड व्रिजको अभावमा साँझको समयमा धेरै मानिसको मृत्यू भयो । त्यसैले यो बाटोमा कुद्ने गाडीको गति नियन्त्रणको लागि स्पीड लिमिट तोक्ने र कोनहरूको प्रयोग गरेर गति सीमित गर्ने प्रयास भइरहेको छ । पछिल्ला दिनमा त्यसको परिणाम राम्रो आइरहेको छ । त्यसलाई अझै व्यवस्थित गर्न काम हुँदैछ । सरकारले त्यसको लागि बजेट दिएको छैन । विभिन्न संघसंस्थालाई अनुरोध गरेर आवश्यक सामाग्री खरिद गरिरहेका छौं ।

कोभिड १९ पछि मादक पदार्थ सेवन गरेको छ वा छैन भनेर परीक्षण गर्न कठिन भइरहेको छ । यसलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?

मादक पदार्थ दुर्घटनाको एउटा कारण हो । दुर्घटना न्यूनीकरण गर्न मापसे परीक्षण बढाउनु पर्ने अवस्था छ । तर, सामाजिक दूरी कायम गर्दै परीक्षण गर्नुपर्ने भएकोले केही नजिकबाट परीक्षण गर्न कठिन भएको छ । तर पनि परीक्षण निरन्तर चलिरहेको छ ।


Back_to_top