सुरुङ मार्गको सम्भाव्यता अध्ययन शुरु

साकेंतिक तस्विर

बाबियाचौर । म्याग्दीको सबैभन्दा दुर्गम र विकट बस्ती गुर्जालाई यातायात सञ्जालसँग जोड्न सुरुङ मार्गको सम्भाव्यता अध्ययन शुरु गरिएको छ । 

धौलागिरि गाउँपालिका-१ मा पर्ने गुर्जामा सहज रूपमा यातायात सेवा पु¥याउनका लागि सुरुङ मार्ग निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न भूगर्वविद् र प्राविधिक टोली परिचालन भएको हो । २ नं वडामा पर्ने लुलाङदेखि गुर्जासम्म सुरुङ मार्ग निर्माणका लागि स्टेन्थ डेभलपर्स प्रा.लिले स्थलगत अध्ययन शुरु गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए । 

सम्भाव्यता अध्ययनका लागि गाउँपालिका र प्रा.लिबीच ४ लाख ९४ हजारमा सम्झौता भएको छ । असार १६ गतेभित्र अध्ययन प्रतिवेदन उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । भूगर्वविद्को टोलीले सुरुङ मार्गको भौतिक, आर्थिक, सामाजिक, भौगोलिक, वातावरणीय विषयमा अध्ययन गरेर प्रतिवेदन दिनेछ । 

एउटै बस्ती र एउटै गाउँ रहेको गुर्जामा पुग्न नजिकैको बस्ती लुलाङबाट तीन हजार ५०० मिटर उचाइको देउराली धुरी पार गर्दै कम्तीमा आठ घण्टा पैदल हिँड्नुपर्छ । उकालो, ओरालो, जंगल र भिरको बाटोको पैदलयात्रा अत्यासलाग्दो हुने गर्छ । हिउँदमा हिउँ परेपछि पैदलमार्ग समेत अवरुद्ध हुने गर्छ । 

भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण सडकको विकल्पमा सुरुङ मार्गको परिकल्पना गरिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । सवारी साधन आवतजावत गर्ने, नभए पैदलमार्फत आवतजावत गर्नका लागि भए पनि सुरुङ मार्ग आवश्यक रहेको गुर्जाका बासिन्दाको भनाइ छ । सडक पुगेको मुनादेखि गुर्जासम्म खच्चरमार्फत सामान ढुवानी गर्दा प्रतिकिलो २१ रुपैयाँ लाग्छ । २३० घरधुरी छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा पर्यटन, जडीबुटी खेती, खानी र पशुपालनका लागि प्रशस्त सम्भावना बोकेको क्षेत्र हो । 


Back_to_top