काठमाडौं । सरकारले राजमार्गमा पुनः सडक दस्तुर उठाउन सुरू गरेको छ । सडक बोर्ड नेपालले रुपन्देहीस्थित भैरहवा–भूमही सडकखण्डमा सोमबारदेखि दस्तुर संकलन सुरू गरेको हो ।
बोर्डले कोरोना महामारी अघि देशका विभिन्न राजमार्गमा उपभोग दस्तुर उठाउँदै आएको थियो । कोरोनाका कारण रोकिएको दस्तुर संकलन बोर्डले भैरहवा-भूमही २८ किलोमिटर खण्डबाट पुनः सुरू गरेको हो ।
बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले सडक बोर्ड ऐन, २०५८ को दफा ‘६’ र ‘४’ को अधिनमा रही ‘सडक उपभोग दस्तुर उठाउने (कार्यविधि) नियमावली, २०८१’ बमोजिम दस्तुर संकलन सुरू गरिएको जानकारी दिए ।
उनले अहिले भैरहवा-भूमही सडकखण्डमा सुरू गरिए पनि अबको केही दिनमै अन्य तीन स्थानबाट पनि दस्तुर संकलन सुरू गरिने बताए ।
‘२०८१ जेठ १७ गतेको मन्त्रिपरिषद्कै निर्णयअनुसार टोल ट्याक्स उठाउने निर्णय भएको थियो, टोल ट्याक्स पनि डिजिटाइलज माध्यमबाट उठाउने कुरा हो । सोहीअनुसार भैरहवाबाट यसको सुरूआत गरेका छौं,’ केसीले भने, ‘यो सडकखण्ड छोटो रहेको र भन्सार विन्दु पनि रहेको हुँदा यहीँबाट सुरू गर्ने निर्णयमा पुगेका हौं ।’
यसअघि ठेक्का लगाएर दस्तुर संकलन गरिए पनि अहिले बोर्डले आफ्नै कर्मचारी व्यवस्थापन गरेर डिजिटल माध्यमबाट दस्तुर संकलन सुरू गरिएको उनले बताए । एनआइसी एसिया बैंकसँगको साझेदारीमा क्यूआर कोडमार्फत दस्तुर भुक्तानीको व्यवस्था मिलाइएको छ ।
उनले भैरहवा भन्सारबाट निस्केका ओभरलोड गाडीहरूले सडक बिग्रेका कारण त्यसको अनुगमन पनि गर्ने र सो गाडीहरूले बिगारेको बाटो संकलित करबाट मर्मत गरिने बताए ।
उनले भैरहवाबाट सुरू गरेको सडक दस्तुर संकलन अब वीरगञ्ज–पथलैया, धरान विराटनगर र नारायणगढ–मुग्लिङ बाटोमा पनि सुरू गरिने बताए ।
यससँगै नागढुङ्गासडक खण्डमा पनि सवारी साधनबाट ‘रिड’ गर्न मिल्ने ‘आरएफआइडी’ प्रविधि जडान गरी दस्तुर संकलन गरिने उनले जानकारी दिए ।
संकलित रकमको कम्तीमा दुई तिहाइ रकम सोही सडकखण्डको मर्मतसम्भारमा उपयोग गरिने केसीको भनाइ छ ।
कति तिर्नुपर्छ शुल्क ?
भैरहवा-भूमही सडकखण्डमा बोर्डले सवारी साधनको वर्ग अनुसार दस्तुर तोकेको छ ।
बोर्डका अनुसार यस सडकखण्डमा बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभी मेसिनरी इक्विपमेन्टको ३० रुपैयाँ दस्तुर तिर्नुपर्छ । त्यस्तै, कार, जिप, पिकअप भ्यान र ट्रयाक्टरले २० रुपैयाँ तिर्नुपर्छ ।
यस सडकखण्डमा तीनपाँग्रे तथा मोटरसाइकललाई १० रुपैयाँ दस्तुर तोकिए पनि अहिले संकलन नगरिएको कार्यकारी निर्देशक केसीले जानकारी दिए ।

