भारतमा सब फोर मिटर एसयूभीमा हुन्डाई भेन्यू असर, कसको बिक्री कतिले घट्याे

भारतीय बजारमा अधिकांस पुराना मोडलका सब फोर मिटर एसयूभीले आफ्नो बजार हिस्सा गुमाएका छन् । विशेषगरि आर्थिक वर्ष २०१८/१९ मा उत्कृष्ट व्यापार गर्न सफल मारुती सुजुकी भिटारा ब्रेजा, टाटा नेक्सन, फोर्ड इकोस्पोर्ट, महिन्द्रा टियूभी ३०० र होन्डा डब्ल्यूआरभीले आर्थिक वर्ष २०१९/२० मा आफ्नो बजार हिस्सा गुमाएका हुन् ।

सन् २०१९/२० को सुरुवातमै बजारमा आएका हुन्डाई भेन्यू र महिन्द्रा एक्सयूभी ३०० ले बजारमा राम्रै पकड जमाएपछि पुराना मोडलको बिक्रीमा गिरावट आएको हो । यद्यपी सर्वाधिक बिक्रीको सूचीमा मारुती सुजुकी भिटारा ब्रेजा नै रहन सफल भएको छ ।

मारुती सुजुकीले अघिल्लो आर्थिक वर्षमा १ लाख ५७ हजार ८८० यूनिट ब्रेजा बिक्री गरेकोमा २०१९/२० मा १ लाख १० हजार ६४१ यूनिटमात्र बिक्री गर्न सक्यो । कम्पनीले अघिल्लो वर्षको तुलनामा ४७ हजार २३९ यूनिट ब्रेजा कम बिक्री गरेको हो ।

आर्थिक वर्ष २०१९/२० मा बजारमा आएको भेन्यूले ९३ हजार ६२४ यूनिट बिक्री गर्दै ब्रेजालाई कडा टक्कर दिएको थियो ।

त्यसैगरि सूचीको तेस्रो स्थानमा रहेको टाटा नेक्सको बिक्रीमा पनि गिरावट आएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ५५ हजार ८ यूनिट नेक्सन बिक्री गरेकोमा आर्थिक वर्ष २०१९/२० मा ४३ हजार २६० यूनिट मात्रै बिक्री गर्न सकेको थियो । कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्ष ११ हजार ७४८ यूनिट नेक्सन कम बिक्री गरेको हो ।

त्यस्तै फोर्डको इकोस्पोर्टको बिक्री ८ हजार ४२१ यूनिटले घटेर आर्थिक वर्ष २०१९/२० मा ३७ हजार ८४४ यूनिटमा झरेको थियो । महिन्द्राको नयाँ एसयूभी एक्सयूभी ३०० ले ३७ हजार ५७६ यूनिट बिक्री गर्दै आफुलाई पाँचौ स्थानमा राख्न सफल भएको छ ।

होन्डाको सब फोर मिटर क्रसओभर डब्ल्यूआरभीको बिक्रीमा उच्च गिरावट आएको छ । अघिल्लो वर्ष ३३ हजार १० यूनिट डब्ल्यूआरभी बिक्री भएकोमा गतवर्ष २१ हजार ८४ यूनिटले बिक्री घटेको थियो । कम्पनीले आर्थिक वर्ष २०१९/२०मा कुल ११ हजार ९२६ यूनिट मात्रै डब्ल्यूआरभी बिक्री गरेको छ ।

महिन्द्रा टियूभी ३०० को बिक्रीमा ८ हजार २७ यूनिटले गिरावट आएको छ । कम्पनीले आर्थिक वर्ष २०१९/२०मा ११ हजार ५४३ यूनिट टियूभी बिक्री गरेको तथ्यांक भारतीय अटोमोवाइल उत्पादकले प्रकाशन गरेको छ ।


Back_to_top