५६ वर्षदेखि लगातार बिक्री बढ्न सफल माेडल, इलेक्ट्रीकमा आएसँगै थप चर्चामा

काठमाडौं । अमेरिकी प्रसिद्द मोटर उत्पादक कम्पनी फोर्डको पावरफुल कार मस्टाङले उत्पादनको ५६ वर्ष पूरा गर्दैछ । फोर्डको अहिलेसम्म कै सबैभन्दा धेरै बिक्री भएको मोडलमा पनि यसले आफ्नो नाम लेखाउन सफल भएको छ ।

फोर्डको मस्टाङ स्पोर्टस् कारको रुपमा सन् १९६४ अप्रिल १७ मा पहिलो पटक बजारमा आएको हो । सन् २०१९ मा मात्रै १ लाख २ हजार ९० यूनिट मस्टाङ बिक्री भएको तथ्यांक आईएचएसले सार्वजनिक गरेको छ ।

मस्टाङ विश्वमै सर्वाधिक बिक्री हुने स्पोर्टस् कार हो । यसको बिक्री पुरै यूरोप, अमेरिका र एसियाली देशमा हरेक वर्ष करिब ३० प्रतिशतले बढ्दै गएको छ । आफ्नो बजार हरेक वर्ष वढ्दै जानुमा आफ्नो उत्पादन उत्कृष्ट भएको फोर्डले जनाएको छ ।

फोर्ड मस्टाङ पावर फुल गाडीका पारखीलाई अहिलेपनि लोभ्याउने मोडलमा पर्दै आएको छ । अब कम्पनीले यसको इलेक्ट्रीक भर्सन पनि बजारमा ल्याएको छ । यसले मस्टाङ पहिलेको तुलनामा अझै बढी खोजी हुने र सफल हुने मोडलमा पर्ने सहजै अनुमान लगाउन सकिन्छ ।

नेपाली बजारमा पनि जीओ फोर्डले मस्टाङ ल्याएर बिक्री गरेको थियो । दुई यूनिट मात्रै नेपाल ल्याएको मस्टाङ पछिल्लो समयमा नेपालमा बिक्री भएको छैन । संभवत इलेक्ट्रीक मोडल नेपाल आउन सक्ने छ । तर, हालैमा सरकारले ५० हजार डलभन्दा माथिको गाडी आयातमा रोक लगाएकाले तत्कालभने इलेक्ट्रीक मोडलपनि नेपाल आउन पाउने छैन ।


Back_to_top