काठमाडौं । सन् २०१४ बाट नेपाली बजारमा उपलब्ध सब फोर मिटर एसयूभी अहिले सेकेन्ड ह्याण्ड बजारमा निकै राम्रो मूल्यमा किन्न पाइन्छ । फोर्ड इकोस्पोर्ट, मरुती सुजुकी ब्रेजा जस्ता मोडल राम्रो मूल्यमा किन्न पाइने एसयूभी हुन् ।
नयाँ कारको बिक्री सुस्त भएसँगै सेकेन्ड ह्याण्ड कारको बजार पनि निकै कमजोर बन्दै गएको छ । त्यसैले कुनै समयका हटकेक एसयूभीहरु अहिले १५ लाखदेखि २५ लाख रुपैयाँसम्म तिर्दा निकै राम्रो कन्डिसनमा पाउन सकिन्छ ।
विद्युतीय कारको बिक्रीमा भएको वृद्धिको पहिलो शिकार बन्दै गएको सब फोर मिटर एसयूभी बीच प्रतिस्पर्धा पनि कडै देखिन्छ । फोर्ड इकोस्पोर्ट, मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, टाटा नेक्सन, महिन्द्रा एक्सयूभी ३००, निसान म्याग्नाइट र रेनो काइगर यहि सेग्मेन्टमा उपलब्ध एसयूभी हुन् । अहिले यी सबै मोडल सेकेन्ड ह्याण्ड बजारमा किन्न पाइन्छ ।
‘विद्युतीय कारको बिक्री बढ्दा पेट्रोल कार बिक्री गर्ने धेरै छन् । तर, किन्ने मानिस कम हुँदा मूल्य पनि निरन्तर ओरालो लागेको छ’, काठमाडौं अटोमोवाइलका प्रबन्ध निर्देशक शैलेन्द्र श्रेष्ठले भने ।
श्रेष्ठका अनुसार अहिले चलिरहेको आर्थिक मन्दीकै कारण सेकेन्ड ह्याण्ड बजार पनि समस्यामा देखिएको हो । विस्तारै ठिक हुने देखिन्छ । मानिसको कन्फिडेन्स बढ्दै जाँदा कारको बिक्री पनि बढ्ने हो ।
चक्रपथमा रिकन्डिशन कारको ब्यापार गर्दै आएका मनोज गौतम अहिले कम बजेटमा एसयूभी चढ्ने चाहना भएका मानिसलाई अवसर आएको बताउँछन् । उनि भन्छन्, ‘अहिले सेकेन्ड ह्याण्ड बजारमा जुन मूल्यमा एसयूभीहरु उपलब्ध छन्, विगतमा कहिल्यै थियन ।’
गौतम अहिले अटोमोवाइल व्यवसाय नै कठिन र ट्रान्जिसनल फेजबाट गुज्रिरहेको बताउँछन् । यस्तो समयमा ग्राहकले थप फाइदा पाउने अहिलेको घटनाले देखाउँछ । बेच्नेले चाँडो बेच्न चाहने र किन्नेले पर्खर हेरको अवस्थामा बस्ने भएको कारण मूल्य घटाघट चलेको हो ।
‘ईभी र पेट्रोल कारको द्धन्द्ध देखिएको छ । उपभोक्ता पनि अन्योलमा छन् । कुन ठिक होला, म पछाडि पर्छु कि ? जस्ता कुराले उपभोक्तालाई दुविधामा पारेको छ । त्यसैले अहिले ढुक्कसँग साना एसयूभी किन्दा ग्राहकले फाइदा पाउने देखिन्छ’, गौतमले भने ।
साना र मध्यम साइजका एसयूभी बिक्री गरेर ईभी किन्ने बढेकाले सेकेन्ड ह्याण्ड बजारमा सब फोर मिटर सेग्मेन्टमा राम्रै संख्यामा एसयूभी उपलब्ध छन् । त्यसमा पनि फोर्डको इकोस्पोर्ट भ्यालू फर मनीको रुपमा उपलब्ध छ । किनभने ईकोस्पोर्ट बजारमा उपलब्ध सबैभन्दा सस्तो एसयूभी हो ।