काठमाडौं । भारतीय बजारमा नोभेम्बर महिनाको बिक्री तथ्यांक सार्वजनिक भएको छ । नयाँ बिक्री तथ्यांकमा सब फोर मिटर सेग्मेन्टमा कोरियन उत्पादक हुन्डाई र कियाको दबदबा देखिएको छ ।
भारतमा बिक्री हुने हुन्डाई, किया, महिन्द्रा, टाटा, फोर्ड, टोयोटा र मारुती सुजुकी मध्ये साना एसयूभीमा कियाले अग्रस्थान हासिल गरेको छ । कियाले तीन महिनाअघि बजारमा ल्याएको सोनेटले लगातार दोस्रो महिना पहिलो स्थान पाउन सफल भएको हो ।
किया सोनेटको नोभेम्बरमा ११ हजार ४१७ यूनिट बिक्री भएको छ भने दोस्रो स्थानमा हुन्डाई भेन्यू रहेको छ । भेन्यूको बिक्री ९ हजार २६५ यूनिट भएको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरि धेरैजसो महिनामा अग्रस्थानमा रहने मारुती सुजुकी ब्रेजा ७ हजार ८३८ यूनिटसहित तेस्रो र ६ हजार २१ यूनिटसहित टाटा नेक्सन चौथो स्थानमा रहन सफल भएको छ ।
महिन्द्रा एक्सयूभी ३०० को बिक्री पनि नोभेम्बर महिनामा बढेको छ । कम्पनीले यस महिना ४ हजार ४५८ यूनिट एक्सयूभी ३०० बिक्री गरेको छ । टोयोटाले अघिल्लो महिनाबाट बिक्री सुरु गरेको अर्वान क्रुजरको बिक्री २ हजार ८३२ यूनिट हुँदा फोर्डको इको स्पोर्टको बिक्री १ हजार ५९० यूनिट भएको छ ।
आगामी महिनाबाट यो सेग्मेन्टमा थप प्रतिस्पर्धा हुने देखिएको छ । निसानले आफ्नो प्रतिक्षित सब फोर मिटर एसयूभी म्याग्नाइटको डिसेम्बरबाट बिक्री सुरु गरेको छ भने, रेनो किगरको बिक्री २०२१ को पहिलो क्वाटरबाट सुरु गर्ने अनुमान गरिएको छ ।


