काठमाडौं । जापानी अटोमोवाइल कम्पनी सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभीको कन्सेप्टलाई ‘eVX’ नाम दिएर भारतमा भएको अटो एक्स्पो २०२३ मा देखाएको थियो । अब कम्पनीले जापानमा हुन लागेको ‘टोकियो मोटर शो २०२३’ मा यसको इन्टेरियर देखाउने भएको हो ।
२०२३ जनवरीमा भारतमा भएको अटो एक्स्पोमा गाडीको बाहिरी बनोट मात्रै देखाइएको थियो । सुजुकीले ‘eVX’ मोडल अर्को जापानी अटोमोवाइल कम्पनी टोयोटासँगको संयुक्त लगानीमा विकास गरिरहेको हो ।
कम्पनीले ‘eVX’ कन्सेप्टमा आधारित एसयूभी ‘४०–पीएल स्केटबोर्ड आर्किटेक्चर’मा आधारित रहनेछ । eVX को इन्टेरियरसँगै सुजुकीले नयाँ स्वीफ्ट र वागनआर समेत प्रदर्शनी गर्ने भएको छ ।
परिक्षणको क्रममा विभिन्न स्थानमा eVX देखिएको थियो । त्यसैलाई आधार मान्दा इन्टेरियरमा दुई वटा स्कृन सेटअप दिइने अनुमान गर्न सकिन्छ । साथै, भर्टिकल एसी भेन्ट, रिफ्रेस फ्ल्याट बटम स्टेरिङ ह्वील र रोटरी डायलसहितको फ्लोटीङ सेन्टर कन्सोल देखिन्छ ।

कम्पनीले eVX को लम्बाई ४३०० एमएम, चौडाई १८०० एमएम र उचाई १६०० एमएम दिनेछ । यसमा ह्वीलवेस भने २७०० एमएमको पाउन सकिन्छ । सिंगल चार्जमा यसले ५०० किलोमिटरसम्म रेन्ज दिने अनुमान गरिएको छ । यसमा ६० किलोवाट आवरको ब्याट्री प्याक छ ।
यसलाई दुई ब्याट्री अप्सनमा ल्याउने सम्भावना पनि त्यत्तिकै रहेको छ । यसको इन्ट्री लेवल भर्सनले भने ४०० किलोमिटरसम्म रेन्ज दिने देखिन्छ । यसमा ४८ किलोवाट आवरको ब्याट्री प्याक रहने सम्भावना छ ।

भारतको प्लान्टमा बन्ने सुजुकी eVX को ग्लोबल लन्च आगामी अक्टुबर २०२४ हुने बताइएको छ ।

