आउँदै १६ सिट क्षमताका इलेक्ट्रीक माइक्रोबस, मूल्य ७३ लाख

काठमाडौं । कमर्शियल गाडीहरुको बिक्री गर्दै आएको शशिला मोटर्सले आफैं विद्युतीय माइक्रोबस नेपाल ल्याउने भएको छ । कम्पनीले विश्व प्रसिद्ध चिनियाँ ब्राण्ड हाइगरका १६ सिट क्षमताका माइक्रो बस नेपाल ल्याउन लागेको हो ।

विश्वका १३० भन्दा धेरै देशमा हाइगरका उत्पादन उपलब्ध छन् । नेपालमा पनि हाइगरका ठूला कमर्शियल बसहरु बिक्री वितरण हुँदै आएको थियो । अब लाइट कर्मर्शियल सेग्मेन्टका माइक्रोबसहरु शशिला मोटर्सले बिक्री सुरु गर्न लागेको हो । यसकाे मूल्य ७२ लाख ९० हजार रूपैयाँ ताेकिएकाे छ ।

कम्पनीले आज शुक्रबार चिनियाँ कम्पनीसँग आधिकारीक बिक्रेताको एजेन्सी लिएको हो । हाइगर ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’को उपाधि प्राप्त गर्न सफल ब्राण्ड हो ।

नयाँ एजेन्सीको सम्झौंतासँगै शशिला मोटर्स हाइगर माइक्रो भ्यानको नेपालका लागि एकमात्र आधिकारक बितरक बनेको छ । सुरुमा कम्पनीले १६ सिट क्षमताका माइक्रोबस र मिनीबस बिक्री गर्ने जनाएको छ ।

‘हामीले ल्याउने लाइट कमर्शियल गाडीहरु वातावरणमैत्री र कम संचालन खर्चमा चलाउन सकिने भएको कारण धेरै ग्राहकको पहिलो रोजाइ बन्न सफल हुने विश्वास लिएका छौं’, शशिला मोटर्सका प्रवन्ध निर्देशक सन्तोष खतिवडाले भने ।

कम्पनीले चाँडै यसको बुकिङ खुल्ला गर्ने योजना बनाएको छ । सम्भवत चाडपर्व सकिएसँगै यसको बुकिङ खुल्ला हुनेछ ।

हाइगर माइक्रोबसमा पाइन्छ यस्ता विशेषता

हाइगर नेपालकै पहिलो १६ सिट क्षमताको इलेक्ट्रीक माइक्रो बस हो । यसमा ७० किलोवाट अवारको लिथियम आयोन ब्याट्री प्याक रहेको छ । यसलाई एक पटकको सिंगल चार्जमा २५० किलोमिटर रेन्ज दिने कम्पनीले दावी गरेको छ ।

सुरक्षाको लागि कोलिजन अभोइडेन्स् सिस्टम, लेन डिपार्चर वार्निङ्ग तथा एअरब्याग सहितको सुरक्षा फिचर छन् । नेपालमा उपलब्ध इलेक्ट्रीक माइक्रो भ्यान मध्ये एयरब्याग भएको यो पहिलो मोडल पनि हो ।

यसमा यात्रुको सुविधाका लागि एयरकण्डिसन सहित उत्कृष्ट आन्तरिक सजावट पाउन सकिन्छ । २०० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स र ९० किलोवाटको मोटर यसको बलियो पक्ष हो । यसले ३५० न्यूटन मिटर टर्क प्रदान गर्छ । यसमा ह्वील भने १६ इन्चको पाउन सकिन्छ ।


Back_to_top