काठमाडौं । मारुती सुजुकीले सब-फोर मिटर हाइब्रिड कार ल्याउने भएको छ । कम्पनीले ब्रेजा र फ्रङ्क्सको सफलतापछि यहि सेग्मेन्टमा नयाँ मोडल ल्याउने भएको हो ।
भारतमा बढ्दो सब-फोर मिटर एसयूभीको मागलाई मध्यनजर गर्दै सुजुकीले नयाँ मोडल ल्याउन लागेको हो । कम्पनीले ल्याउने नयाँ मोडल आउँदो चाडपर्वको सिजनमा बजारमा उपलब्ध हुनेछ । सम्भवत टोयोटाको बीजेड कन्सेप्टमा आधारित भएर कम्पनीले नयाँ मोडल ल्याउन सक्नेछ । भारतमा टोयोटा र सुजुकीले सहकार्य गर्दै आएका छन् ।
नयाँ आउने एसयूभी अहिले बजारमा उपलब्ध ब्रेजा र फ्रङ्क्सभन्दा माथि रहने छ । यसमा आधुनिक फिचरहरु हुनेछन् । कम्पनीले एडास फिचरदेखि पानारोमिक सनरुफसमेत यसमा दिनेछ ।
कम्पनीले ब्रेजामा रहेको १.५ लिटर इन्जिनलाई नै निरन्तरता दिन सक्ने रिपोर्टहरुले दावी गरेका छन् । साथै, ग्राण्ड भिटारामा प्रयोग भएको हाइब्रिड टेक्नोलोजी यसमा प्रयोग हुनेछ । जसका कारण गाडीको माइलेज निकै राम्रो हुनेछ ।
कियाले सिरोस एसयूभी लन्च गरेसँगै पाएको सफलतालाई ध्यानमा राखेर अन्य कम्पनीहरु पनि सब फोर मिटर एसयूभीको तयारी गरिरहेका छन् । फक्सवागेन र स्कोडाले पनि सब फोर मिटर एसयूभी बिक्री थाल्दैछन् ।
भारतमा टिक्नको लागि निकै मिहिनेत गरिरहेका युरोपियन ब्राण्डसँग नै सिधा प्रतिस्पर्धा गर्नेगरी सुजुकीले नयाँ सब फोर मिटर एसयूभी ल्याउन लागेको हो । कम्पनीले ल्याउने नयाँ एसयूभीको मूल्य लगायतका कुराहरुको बारेमा कुनै जानकारी प्राप्त भएको छैन ।

