काठमाडौ । नेपालका लागि सुजुकीको आधिकारीक बितरक भीजी अटोमोबाइल्सले नाडा अटोशोमा दुई नयाँ मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले भदौ १० गतेबाट सुरु हुने नाडा अटो शोमा जिक्सर १५० र जिक्सर २५० मोटरसाइकलको प्रदर्शन तथा बिक्री गर्ने भएको हो ।
सुजुक जिक्सर २५० एसएफ/ २५० नेकेड
सुजुकीले जिक्सर २५० मोटरसाइकल मे २० मा भारतीय बजारमा सार्वजनिक गरेको हो । यो मोटरसाइकलमा सिंगल सिलिन्डर फ्यूल इन्जेक्टेड २५० सीसीको इन्जिन रहेको छ । उक्त इन्जिनले २५ पीएस पावर जेनेरेट गर्ने कम्पनीले जनाएको छ । यसमा ६ स्पीड ट्रान्समिसन रहेको छ । विशेषतः सुरक्षालाई मध्यनजर गर्दै जिक्सर २५० एसएफको उत्पादन गरिएको कम्पनीको दाबी छ ।
ड्यूल च्यानल स्ट्यान्डर्ड एबीएसका साथ आएको नयाँ जिक्सरमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ ।
कम्पनीले इन्ट्री–लेवल प्रिमियम मोटरसाइकलको बजारलाई ध्यानमा राख्दै यो मोटरसाइल निर्माण गरेको जनाएको छ । यो बाइकले यामाहा फेजर २५० सँग प्रतिस्पर्धा गर्नेछ । नाडा अटो शोमा नेपाली बजारमा आउने यसको मूल्य ४ लाख ५० हजार रुपैयाँ हाराहारीमा पर्ने अनुमान गरिएको छ । साथै कम्पनीले केहि दिन अघि मात्रै भारतीय बजारमा सार्वजनिक भएको सुजुकी २५० नेकेड भर्सन समेत नाडा अटो शोमा सार्वजसनिक गर्ने बताएको छ ।
सुजुकी जिक्सर १५०
सुजुकी मोटरसाइकलले केही दिनअघि भारतीय बजारमा जिक्सर १५० को नयाँ संस्करण सार्वजनिक गरेको थियो । विभिन्न तीन कलर उपलब्ध नयाँ जिक्सरमा आकर्षक एलइडी हेडल्याम्प, नयाँ फ्युल ट्यांक, जिक्सर प्रिन्ट नयाँ ग्राफिक्सको विशेषता दिइएको छ भने १२ लिटरको इन्धन ट्यांकी रहेको छ ।
बाइकमा स्पीलिट सिट, ब्ल्याक आउट अलोय ह्वील, रेड स्ट्रेपलगायतको डिजाइन परवर्तन गरिएको छ । जिक्सर १५० मा दिइएको १५५ सीसी सिंगल सिलिन्डर इन्जिनले १४।१ पीएस पावरका साथै १४ एनएम टर्क उत्पादन गर्छ ।
यसका साथै सुजुकीले नेपाली बजारमा सुजुकी इन्ट्रुडर १५०, जिक्सर एसएफ १५५ सीसी, जिक्सर एसएफ मोटोजिपी एडिशन, सुजुकी बर्गम्यान स्ट्रिट १२५, सुजुकी एक्सेस १२५ स्पेशियल एडिशन लगायतका विभिन्न मोटरसाइकल र स्कुटरको बिक्री गर्दै आएको छ ।


