टाटा अल्ट्रोज अबको केही दिनमा नेपाल आउने

काठमाडौं । टाटा अल्ट्रोजको सुरुवाति मूल्य २९ लाख ९९ हजार रुपैयाँबाटै सुरु हुने भएको छ । कम्पनीले अल्ट्रोजको मूल्यसूची प्रकाशन गरेर यसको जानकारी दिएको हो । टाटा मोटर्सको लागि नेपालको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले गत बैशाखमा सार्वजनिक गर्ने तयारी गरेको अल्ट्रोज कोरोना भाइरसको कारण नेपाल ल्याउन सकेको थिएन ।

अबको केही दिन भित्रै बिक्री सुरु हुन लागेको अल्ट्रोज विभिन्न ४ भेरियन्टमा नेपाल आउन लागेको सिप्रदी ट्रेडिङले जानकारी दिएको छ । टाटा अल्ट्रोजको सुरुवाति भेरियन्ट एक्सईको मूल्य २९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरि एक्सएम भेरियन्टको मूल्य ३२ लाख ५५ हजार र एक्सटी भेरियन्टको मूल्य ३५ लाख ५५ हजार रुपैयाँ तोकेको छ । अल्ट्रोजको टप भेरियन्ट एक्सजेड हुने छ । यसको मूल्य ३८ लाख ५५ हजार कायम गरिएको छ ।

कम्पनीले ल्याउने उक्त ह्याचव्याक कारले मारुती सुजुकी बलेनो र हुन्डाई इलाइट आई २० सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

निकै आरामदायी, ठूलो स्पेश, विशिष्ट फिचर तथा ठूला कारको जस्तै पर्फर्मेन्स रहने दाबी गरिएको अल्ट्रोज कम्पनीले आफ्नो नयाँ अल्फा प्लाटफर्ममा निर्माण गरेको हो ।

अल्ट्रोजको चेसिसमा कम तौलको मेटलको प्रयोग गरिएको छ भने आकर्षक हेडलाइट र डे टाइम रनिंग लाइटको फिचर यसमा उपलब्ध रहेको छ । कारमा अल ब्ल्याक ड्याशबोर्ड र ३४१ लिटरको बुटस्पेश रहेको छ ।

१७ इन्च अलोय ह्वील लगाइएको अल्ट्रोजको लम्बाई ३९८८ एमएम, चौडाई १७५४ एमएम र उचाई १५०४ एमएम रहेको भने यसको ह्वीलवेश २५०१ एमएम रहेको छ ।

अल्ट्रोजमा १.२ लिटर टर्बोचार्ज थ्री सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । यसले ५५ सय आरपीएममा १०२ एचपी पावरका साथै १७५० देखि ४ हजार आरपीएममा १४० एनएम टर्क उत्पादन गर्छ । यसमा ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको प्रयोग गरिएको छ ।


Back_to_top