३० देखि ४६ लाखसम्मका ईभी बेच्दै टाटा, यस्तो छ १० भेरियन्टको मूल्य

काठमाडौं । टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले नेपाली बजारमा २९ लाख ९९ हजार रुपैयाँदेखि ४६ लाख ४९ हजार रुपैयाँसम्म मूल्य भएका विद्युतीय कार उपलब्ध गराउँदै आएको छ । कम्पनीले टाटा नेक्सन ईभी र टिगोर ईभीका विभिन्न भेरियन्ट उपलब्ध गराएको हो ।

करिब दुई वर्षअघि नेपालमा बिक्री सुरु भएको सर्वाधिक सफल इलेक्ट्रीक एसयूभी नेक्सनको दुई मोडल बजारमा उपलब्ध छ । कम्पनीले अहिलेसम्म नेक्सन म्याक्स ईभीको लग्जरी भेरियन्ट मात्रै उपलब्ध गराएको छ भने रेगुलर मोडलमा बिभिन्न ५ भेरियन्ट उपलब्ध गराएको छ ।

सिप्रदीले टिगोर ईभी पनि विभिन्न ४ भेरियन्टमा उपलब्ध गराएको छ । बिक्रीका हिसावले टिगोर ईभीले पनि राम्रो ब्यापार गर्न सफल भएको छ ।

सबै भेरियन्टको मूल्य

टाटाको कम मूल्यको सेडान कार टिगोर ईभीको एक्सई भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ रहेको छ । त्यसैगरी एक्सएम भेरियन्टको मूल्य ३१ लाख ४९ हजार, एक्सजेड प्लस भेरियन्टको ३२ लाख ९९ हजार र एक्सजेड प्लस ड्यूल टोनको मूल्य ३३ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

टाटा नेक्सन म्याक्स लग्जरीको मूल्य ४६ लाख ४९ हजार छ । म्याक्स मोडल एउटा मात्रै भेरियन्टमा उपलब्ध छ ।

त्यसैगरी नेक्सन ईभी प्राइम मोडलको एक्सएम भेरियन्टको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ छ भने, एक्सजेड प्लस भेरियन्टको ४० लाख ९९ हजार र एक्सजेड प्लस लग्जरीको मूल्य ४२ लाख ९९ हजार रुपैयाँ छ ।

नेक्सन प्राइम मोडललाई डार्क एडिसनको रुपमा पनि कम्पनीले बिक्री गर्दै आएको छ । एक्सजेड प्लस डार्क भेरियन्टको मूल्य ४१ लाख ९९ हजार र एक्सजेड प्लस लग्जरी डार्क भेरियन्टको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

सिप्रदीले अहिले बिभिन्न तीन मोडलका १० भेरियन्ट नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।

मोटर र ब्याट्री

टाटाको सबैभन्दा ठूलो मोटर नेक्सन म्याक्स ईभीमा छ । कम्पनीले यसमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर र ४०.५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिएको छ ।

त्यसैगरी, नेक्सन प्राइममा ९५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर र ३०.२ किलोवाट आवरको ब्याट्री छ । जीप ट्रोन टेक्नोलोजीमा आधारित छ । साथै, टिगोर ईभीमा ५५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर र २६ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।


Back_to_top