टाटाले देखाउँदै तीन नयाँ इलेक्ट्रीक एसयूभी, सबैको ध्यान पन्चमा

काठमाडौं । भारतीय अटो जाइन्ट टाटाले अटो एक्स्पो २०२३ मा विभिन्न तीन इलेक्ट्रीक मोडल सार्वजनिक गर्ने भएको छ । कम्पनीले पहिलो पटक ३ मोडल एकै साथ शोकेस गर्ने भएको हो ।

भारतमा ईभी सेग्मेन्टमा एकछत्र राजगर्न सफल टाटाले आफ्नो सफल माइक्रो एसयूभी पन्चको इलेक्ट्रीक भर्सन सार्वजनिक गर्ने तयारी गरेको छ । टाटा पन्च अहिले भारतमा मासिक १० हजार यूनिटभन्दा धेरै विक्री हुने गरेको मोडल हो । यस्तोमा पन्चको इलेक्ट्रीक भर्सनमा सबैभन्दा धेरै चासो रहनु स्वाभाविक हो । पन्च नेक्सनभन्दा कम मूल्यमा आउने भएको कारण पनि धेरैले यसलाई चासोका साथ हेरेका हुन् ।

कर्भ कन्सेप्ट

टाटाले पन्चपछि कर्भ र अभिन्या मोडलको कन्सेप्ट पहिलो पटक पब्लिकलाई देखाउन लागेको हो । टाटाले यसअघि रिलिज गरेको यी दुबै मोडल पब्लिकलाई भने देखाइएको थिएन । टाटा कर्भ आगामी सन् २०२४ मा बजारमा आउने अनुमान गरिएको मोडल हो । विशेषगरी पेट्रोल र इलेक्ट्रीक दुबै भर्सनमा आउने कर्भ कुप्पे डिजाइनमा तयार हुने एसयूभी हो । यसलाई कम्पनीले पहिलो पटक सन् २०२२ अप्रिलमा सार्वजनिक गरेको थियो ।

टाटाको सेकेन्ड जेनेरेशन ईभी प्लेटफर्ममा आधारित रहने कर्भ ‘डिजिटल डिजाइन फिलोसपी’मा आधारित मोडल हो । त्यसैगरी टाटाले देखाउने अर्को मोडल अभिन्या हो । यसलाई कम्पनीले पूर्ण इलेक्ट्रीक प्लेटफर्ममा बनाउने छ । त्यसलाई टाटाले जेनेरेशन ३ प्लेटफर्म भनेको छ । आधुनिक फिचर लोडेड रहने अभिन्या सन् २०२५ सम्ममा आउने अनुमान गरिएको छ ।

यसका अलावा कम्पनीले अटो एक्स्पो २०२३ मा ह्यारियर फेसलिफ्ट, सफारी फेसलिफ्ट, नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभी शोकेस गर्ने अपेक्षा गरिएको छ ।


Back_to_top