काठमाडौं । चिनियाँ ईभीले मात्रै सफलता पाउछन् भन्ने भाष्य निर्माण हुँदै गएको समयमा टाटाले आफूलाई प्रमाणित गरेको छ ।
बढ्दो विद्युतीय साधनको प्रयोगमा उपभोक्ताको बजेट सुहाउँदा ईभी ल्याएर टाटाले नेपाली उपभोक्तालाई आफूसँगै राख्न धेरै हदसम्म सफल भएको देखिन्छ । भारतलाई आधार बनाएर उत्पादन हुँदै आएका कार नेपालमा पहिल्यैदेखि सफल थिए ।
त्यसको पछाडि थुप्रै कारण छन् । पार्टस्को सहज उपलब्धता, नेपालमा नभेटिए भारतबाटै सामान ल्याएर भए पनि सहजै गाडी बनाउन सकिने आत्म विश्वास र भारतीय उत्पादन बिक्री गर्ने कम्पनीले बनाएको सर्भिस संरचना तथा नेटवर्कको कारण उपभोक्तामा विश्वास धेरै रहेको पाइन्छ ।
भारतमा मासलाई ध्यानमा राखेर ईभी उत्पादन टाटाले मात्रै सुरू गरेको छ । टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जसरी ईभी नेपाल ल्याएर बिक्री गर्दै आएको छ, त्यसले भारतीय उत्पादन माथि नै थप विश्वास सृजना गरेको देखिन्छ ।

टाटा नेक्सन, टिगोर, टियागो र अहिले भर्खरै आएको पन्च सबै मोडलले आफूलाई अब्बल प्रमाणित गरिसकेका छन् । त्यसको पछाडिको मुख्य कारण आधिकारिक बिक्रेताको सेल्स नेटवर्क, सर्भिस नेटवर्क र अटोमोबाइल क्षेत्रमा सिप्रदीको अनुभवले उपभोक्तालाई आश्वस्त बनाउन सक्नु हो ।
पन्चको बिक्री तीव्र
भदौ ११ गते सार्वजनिक भएको टाटा पन्च एक महिनाभन्दा कम समयमा नै ३०० युनिट बिक्री भइसकेको सिप्रदी ट्रेडिङले जनाएको छ । उपत्यकामा १७० युनिट हाराहारी र उपत्यका बाहिर बिक्री भएको पन्च टाटाको डेडिकेटेड ईभी प्लेटफर्ममा उत्पादन भएको पहिलो मोडल हो ।
टाटा पन्चमा ९० किलोवाटको मोटर छ, त्यसैले सानो एसयूभीमा रहेको ठूलो मोटरले पावरमा कुनै सम्झौता गरेको छैन । २५ र ३५ किलोवाट आवर क्षमताको ब्याट्रीले रेन्ज पनि राम्रै दिन्छ ।

थुप्रै आधुनिक फिचर दिएर आएको पन्च ईभी सुरक्षामा फाइभ स्टार रेटिङ पाउन सफल मोडल हो । जसरी टाटा नेक्सन ईभी र टियागो ईभीले नेपाल आउने बित्तिकै धेरैको ध्यान खिच्न सफल भएको थियो । त्यसैगरी पन्च पनि सफल भएको छ ।
चिनियाँ उत्पादनलाई कति चुनौती ?
भारतमा उत्पादन भएको टाटा र सिट्रोनको ईभी मात्रै अहिलेसम्म नेपाल आएका छन् । मारुती सुजुकी, हुन्डाई, किया, टोयोटा, रेनो, निसान जस्ता ब्राण्डका उत्पादन अहिलेसम्म आएका छैनन् ।
मास मार्केटमा विगत लामो समयदेखि छाप छाड्न सफल ब्राण्डका ईभी प्रतिस्पर्धी मूल्यमा नेपाल आउने हो भने पक्कै चिनियाँ उत्पादनलाई चुनौती थपिने छ । तर, महंगो मूल्य र कम फिचरको साथ भारतमा बनेका ईभी नेपाल आउने हो भने चिनियाँ उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन छ ।
चिनियाँ उत्पादन फिचर लोडेड हुनुको साथै फ्यूचरष्टिक छन् । उनीहरू कुनै कन्जुसाई नगरिकन फिचरहरू दिन्छन् । यस्तोमा फिचर लोडेड गाडीले धेरैलाई तान्ने छ ।
अहिल्यै भारतीय उत्पादनले निकै ठूलो प्रतिस्पर्धा दिन्छन् भनेर ठोकुवा गर्न हतार होला । तर, प्रतिस्पर्धी उत्पादन बजारमा ल्याएको खण्डमा चिनियाँ उत्पादनले भारतीय ईभीको प्रतिस्पर्धा सामना गर्नुपर्ने हुन्छ ।

