काठमाडौं । सरकारले इलेक्ट्रीक कारमा करको दर बढाएसँगै अर्थमन्त्रीले आममानिसको लागि नभएर इलेक्ट्रीक कार धनीमानीको लागि भएकाले कर लगाएको दाबी गर्दै आफ्नो बजेटको बचाउ गरे । तर, अर्थमन्त्रीको दाबीमा भने कुनै सत्यता रहेको छैन ।
यसलाई पुष्टी गर्न बजारमा बिक्री भइरहेको टाटा नेक्सनको कम्बस्चन इन्जिनयुक्त सब फोर मिटर एसयूभी र त्यसैको इलेक्ट्रीक भर्सनबीच यहाँ हामीले तुलनात्मक विष्लेषण गर्ने प्रयास गरेका छौं ।
अहिले नेपाली बजारमा टाटा नेक्सनको विभिन्न भेरियन्ट उपलब्ध रहेको छ । यसको सुरुवाति मूल्य ३५ लाख रुपैयाँ रहेको छ भने टप भेरियन्टको मूल्य ४६ लाख रुपैयाँ रहेको छ । कम्पनीले लकडाउन पछि इलेक्ट्रीक भेरियन्ट सार्वजनिक गर्ने तयारी गरेको थियो ।
हामीले तुलनात्मक भिन्नता देखाउन टाटा नेक्सनको छनोट गर्नुको मुख्य उद्देश्य यी दुई उत्पादनमा सबै किसिमका फिचरहरु एउटै उपलब्ध रहेकाले हो । यसमा मुख्य फरक भनेकै इन्जिनको स्थानमा मोटर र पेट्रोलियम पदार्थको ठाँउमा व्याट्री रहेको छ ।
यस्तोमा सरकारले उच्च र कुलिन वर्गले मात्र इलेक्ट्रीक कार चढ्ने भन्दै थोपरेको करले इलेक्ट्रीक नेक्सनको मूल्य करिब ६८ लाख हाराहारीमा पर्ने देखिएको छ ।
भारतमा १४ देखि १६ लाखमा बिक्री गरिरहेको नेक्सन इलेक्ट्रीक कार नेपाल आउने हो भने यसको खरिद मूल्य १५ लाख मानेर यहाँ हामी हिसाव हेर्न सक्छौं । यदि १५ लाख भारुमा यो कार किन्ने हो भने यसको नेपाली मूल्य २४ लाख रुपैयाँ हुन्छ ।
उक्त रकममा ४० प्रतिशत भन्सार लाग्दा ९ लाख ६० हजार रुपैयाँ यसमा भन्सार शुल्क लाग्ने छ । भन्सार शुल्क जोडदा ३३ लाख ६० हजार पुग्छ । यसमा ९५ किलोवाटको इलेक्ट्रीक मोटर प्रयोग गरिएको छ । मोटर अनुसार यसमा अन्तःशुल्क लाग्ने हुँदा ४० प्रतिशत नै अन्तःशुल्क लाग्छ । ३३ लाख ६० हजारमा लाग्ने ४० प्रतिशत अन्तःशुल्क १३ लाख ४४ हजार रुपैयाँ हुन्छ ।
अन्त:शुल्कपछि सरकारले गाडीमा मूल्य अभिवृद्धि कर लगाउने गर्छ । गाडीको अन्तःशुल्क पछिको मूल्य ४७ लाख ४ हजारमा १३ प्रशित मूल्य अभिवृद्धि कर लगाउदा गाडीको मूल्य ५३ लाख १५ हजार ५२० रुपैयाँ पुग्छ ।
त्यसपछि सरकारले सडक निर्माण दस्तुर वापत ५ प्रतिशत कर लगाउछ । उक्त करपछि गाडीको मूल्य ५५ लाख ८१ हजार २९६ रुपैयाँ पुग्छ । त्यसमा सामान्य हिसावले २० प्रतिशत कुल नाफा राखेर मूल्य निर्धारण गर्दा यसको मूल्य ६६ लाख ९७ हजार ५५६ रुपैयाँ हुन्छ ।
व्यवसायीले कुलनाफा बापत राखेको रकमले डिलर कमिसन, विज्ञापन, अफिस संचालन, कर्मचारीको खर्च, बैंक व्याज लगायतका सबै खर्च त्यसैबाट व्यर्होनु पर्छ ।
मूल्यमा ठूलो अन्तर
सामान्य गाडी, उस्तै फिचर र सुविधा भएको दुई गाडीमा मूल्य करिब २१ देखि ३३ लाखसम्म महंगो हुने देखिन्छ । त्यसैले सरकारले लिएको नीति र आफ्नै देशको उत्पादीत विजुली प्रयोग गर्ने भन्दै कसैले इलेक्ट्रीक कार किन्ने देखिदैन ।


