काठमाडौं । दुई भारतीय ब्राण्ड टाटा र महिन्द्राका दुई एसयूभी नेपालमा बिक्री सुरु हुँदैछन् । टाटा नेक्सन ईभी विगत तीन वर्षदेखि नेपालमा उपलब्ध छ । तर, भारतमा यसको फेसलिफ्ट बिक्री सुरु भइसकेको कारण नेपाल पनि चाँडै आउने भएको हो ।
महिन्द्राले पनि विगत दुई वर्षदेखि एक्सयूभी ४०० इलेक्ट्रीक मोडल बिक्री गर्दै आएको भएपनि अहिलेसम्म नेपाल भने आएको छैन । नाडा अटो शो २०२३ मा सार्वजनिक हुने अपेक्षा गरिएको एक्सयूभी ४०० नेपाल आउन सकेन । अब भने नेपाल ल्याउने सम्भावना बढेर गएको छ । यसमा रहेका धेरै कुराहरु सुधार भएको छ । त्यसैले अन्तर्राष्ट्रिय बजार प्रबेशको लागि एक्सयूभी ४०० तयार देखिन्छ ।
टाटा नेक्सन ईभीभन्दा साइजमा एक्सयूभी ४०० केही ठूलो छ । अन्यथा साइज बाहेक दुबै मोडलमा धेरै फिचर समान पाउन सकिन्छ । भारतमा नेक्सन ईभीको बिक्री महिन्द्राको भन्दा धेरै छ । त्यसैले पनि नेपालमा यी दुई ब्राण्ड बीचको प्रतिस्पर्धा कस्तो हुन्छ, हेर्न रोचक हुने अनुमान गर्न सकिन्छ ।
आगामी जेठ १५ गते आर्थिक वर्ष २०८१/८२ को लागि बजेट संसदमा प्रस्तुत हुँदैछ । उक्त बजेटले ईभीमा करको दर कस्तो कायम गर्छ, त्यहि अनुसार यी दुई एसयूभीको नेपाल यात्रा तय हुने अनुमान गर्न सकिन्छ ।

टाटा नेक्सन ईभी
टाटा नेक्सन ईभी नेपाली सडकमा सबैभन्दा धेरै गुड्ने एसयूभी हो । सन् २०२१ बाट बजारमा उपलब्ध नेक्सन ईभीकै बलमा सिप्रदी ट्रेडिङले प्यासेन्जर कारको बजारमा आफुलाई पहिलो बनाउन सफल भयो ।
लामो समयसम्म मानिसले कुरेर किनेको नेक्सनको बिक्री चालु आर्थिक वर्षको बजेटसँगै क्रमिक रुपमा घट्दै गएको हो । त्यसो हुनुमा भारतीय उत्पादनको मूल्य बढ्नु र चिनियाँ गाडीको मूल्य स्थीर रहनुलाई मान्न सकिन्छ ।
टाटाले फेसलिफ्ट मोडल तयार गरेको कारण नयाँ बजेट लगत्तै यसको मूल्य लगायतका विषय टुङ्गोमा पुग्ने सिप्रदी स्रोतले जानकारी दिएको छ ।

टाटा नेक्सन ईभीको फेसलिफ्ट मिड रेन्ज (एमआर) र लङ रेन्ज (एलआर) नामबाट फरक मोडलमा आउने छ । एमआर मोडलमा ३०.२ किलोवाट आवरको ब्याट्री र एलआर मोडलमा ४०.५ किलोवाट आवरको ब्याट्री दिइएको छ ।
नयाँ जीपट्रोन जेन–२मा आधारित नयाँ नेक्सनको अगाडिको डिजाइन धेरै हदसम्म कर्भ कन्सेप्टमा आधारित छ । यसको पछाडिको भागभने ह्यारीयरबाट प्रेरित देखिन्छ । कम्पनीले नयाँ नेक्सन ईभीमा ७.२ किलोवाट क्षमताको एसी चार्जर स्टायडर्ड रुपमा दिएको छ ।

भेहिकल टु लोड र भेहिकल टु भेहिकल चार्जिङ सुविधा उपलब्ध नयाँ नेक्सन कुनै पनि विषयमा अहिले बजारमा रहेका इलेक्ट्रीक मोडलभन्दा कमजोर देखिदैन । कम्पनीले यसको पफर्मेन्समा पनि १० देखि १५ प्रतिशत सुधार भएको दावी गरेको छ ।
यसमा दिएको मोटरको पीक पावरमा परिवर्तन भएको छैन । तर, टर्क भने दुबै मोडलमा वृद्धि भएको छ । कम्पनीले यसमा ईको, सिटी र स्पोर्टस् ड्राइभ मोड दिएको छ ।
एक्सयूभी ४००
सन् २०२२ को सेप्टेम्बरमा पहिलो पटक लन्च भएको इलेक्ट्रीक एक्सयूभी ४०० मा थुप्रै इन्टेरियर फिचरहरू अपडेट भएर भारतमा बिक्री सुरु भएको छ । त्यहि अपग्रेडको कारण नेपालमा बिक्री सुरु भएको थिएन ।
कम्पनीले अपग्रेड गरेको मोडलमा अटो डिमिङ आइआरभीएम, भेन्टिलेटेड सिट, क्रुज कन्ट्रोल, इलेक्ट्रोनीक पार्किङ ब्रेक, फग लाइट थप गरेर छ । यसको क्याबिनमा नयाँ १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस एण्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्ने नयाँ १०.२५ इन्चको डिजिटल टचस्क्रीन दिइएको छ ।

यसका अलावा वायरलेस चार्जिङ प्याड, रियर एसी भेन्ट, ड्युल जोन क्लाइमेट कन्ट्रोल, पुस बटम स्टार्ट स्टप, कीलेस इन्ट्री, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता लेटेस्ट फिचरहरू एक्सयूभी ४००मा उपलब्ध छन् ।
महिन्द्राले ईसी प्रो र ईएल प्रो गरी दुई भेरियन्टमा एक्सयूभी ४०० ल्याएको छ । जस मध्ये ईसी प्रो एडिसनमा ३४.५ र ईएल प्रोमा ३९.४ किलोवाट आवरको ब्याट्री अप्सन रहेको छ ।
एक्सयूभी ईसी प्रो भेरियन्टमा दिएको ३४.५ किलोवाट ब्याट्रीले ३७५ किलोमिटर तथा ईएल प्रोमा दिएको ३९.४ किलोवाट आवरको ब्याट्रीले ४५६ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । यसको मोटरले १०० किलोवाट पावर र ३१० न्यूटन मिटर टर्क दिन्छ ।
एक्सयूभी ४०० मा फन (इको), फास्ट (नर्मल) र फेयरलेस (स्पोर्टस) गरी तीनवटा ड्राइभिङ मोड रहेको छ । यसमा २०० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

