काठमाडौं । टाटाले आफ्नो सफल एसयूभी नेक्सन ईभीलाई ४५ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा उपलब्ध गराएको छ । यसअघि ३५ र ४० किलोलोवाट आवरका दुई ब्याट्री अप्सनमा उपलब्ध नेक्सन ईभी अब नयाँ ४५ किलोवाट आवरको ब्याट्रीमा लन्च भएको हो ।
भारतमा ४५ किलोवाट आवर क्षमताको ब्याट्री भएको नेक्सनको नयाँ मोडललाई विभिन्न तीन भेरियन्टमा बिक्री सुरु गरिएको छ । सुरुवाति भेरियन्टको मूल्य १३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसको टप भेरियन्टको मूल्य भने १६ लाख ९९ हजार भारतीय रुपैयाँ छ । कम्पनीले यसमा रेड डार्क भेरियन्ट पनि ल्याएको छ । त्यसलाई किन्नेले थप २० हजार भारतीय रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
टाटाले पहिलो पटक नेक्सन ईभीमा पानारोमिक सनरुफको प्रयोग गरेको छ । टाटाले ब्याट्री र फिचर थप गरेर ल्याएको नेक्सन ईभीको मूल्य भारतमा ६० हजारले घटाएको हो ।
टाटा मोटर्सका अनुसार नयाँ ब्याट्रीमा यसअघिको तुलनामा १५ प्रतिशत बढी इनर्जी डेन्सीटी छ । साथै, फास्ट चार्जर सपोर्टको मामलामा पनि उत्कृष्ट छ । नयाँ ४५ किलोवाट आवरको ब्याट्रीलाई १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न केबल ४८ मिनेट लाग्नेछ ।
कम्पनीले आफ्नो तीनवटै ब्याट्री अप्सनलाई निरन्तरता दिने जनाएको छ ।


