टाटा सफारी, ह्यारियर र अल्ट्रोज इलेक्ट्रीकको आधिकारिक टिजर सार्वजनिक

काठमाडौं । टाटा मोटर्सले सबै मोडलको इलेक्ट्रीक भर्सन सार्वजनिक गर्ने घोषणा गरिसकेको छ । यसैक्रममा, टाटा मोटर्स इलेक्ट्रीक डिभिजनले आफ्नो थप तीनवटा ईभी मोडलको आधिकारिक टिजर सार्वजनिक गरेको छ।

कम्पनीले पन्च ईभी, अभिन्या र कर्भको कन्सेप्ट यस अघि नै देखाउने भनेकोमा अहिले थप ३ मोडल सफारी, ह्यारियर र अल्ट्रोज इलेक्ट्रीकको टिजर देखाएको हो । योसँगै अब दिल्ली अटोशोमा टाटाले ६ वटा ईभी शोकेस गर्ने भएको छ ।

टाटाले प्रिमियम ह्याचब्याक अल्ट्रोजको इलेक्ट्रीक संस्करणले सन् २०१९ को जेनेभा मोटर शोमा वर्ल्ड प्रिमियर भएको थियो । त्यस लगत्तै यो ईभीको उत्पादन संस्करण बजारमा आउने अपेक्षा गरिएको भए पनि कोरोना महामारी र विश्वमा भएको चिप अभावले यसको लन्चको समय सीमा लम्ब्याएको थियो ।

अल्ट्रोज इलेक्ट्रीकमा विद्युतीय पावरट्रेन र ब्याट्री प्याक नेक्सन ईभीबाट लिइने अनुमान गरिएको छ । ३०.२ किलोवाट आवर क्षमताको ब्याट्री जडान भएको यसमा थ्री-फेज पीएमएसएम मोटरले १२९ पीएस र २४५ एनएम टर्क उत्पादन गर्दछ । यो ईभी उत्कृष्ट एरो डाइनामिक्स र हल्का वजन भएकाले एआरएआइले प्रमाणित गरेको नेक्सनको ३१२ किलोमिटर रेन्जको तुलनामा यसले बढी रेन्ज दिने अपेक्षा गरिएको छ ।

अल्ट्रोज इलेक्ट्रीकलाई डीसी फास्ट चार्जरबाट एक घण्टामा १० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ भने नर्मल एसी चार्जरले चार्ज गर्दा ९ घण्टा बढी समय लाग्ने बताइएको छ ।

सफारी र ह्यारियर पनि ईभीमा

त्यस्तै, अल्ट्रोज ईभीको तुलनामा सफारी र ह्यारियर ईभीमा अत्यन्तै शक्तिशाली इलेक्ट्रीक मोटर र उच्च क्षमताको ब्याट्री प्याक जडान गरिने बताइएको छ । यो टाटाकालागि हाई–एन्ड भेरियन्टमा फोर ह्वील ड्राइभ अफर गर्ने सुनौलो अवसर रहेको छ । तर त्यसका लागि केही समय पर्खनुपर्ने देखिन्छ ।

यसमा ६० किलोवाट क्षमताको ब्याट्री हुनेछ जसले अधिकतम ४००-५०० किलोमिटर रेन्ज दिने अनुमान गरिएको छ । यसले अनुमानित २०० पीएस पावर र ४०० एनएम टर्क जेनेरेट गर्दछ ।

टाटाले ह्यारियर र सफारीलाई एरोडाइनामिक्स बनाउनका लागि बम्पर, स्पोइलर, ह्वील तथा एयरइनटेकलाई धेरै मात्रामा परिमाजर्न गर्ने अनुमान गरिएको छ ।

कम्पनीले अल्ट्रोज ईभीलाई प्रोडक्सन रेडी फर्ममा अनावरण गर्ने अनुमान गरिएको छ भने ह्यारियर र सफारी ईभी नियर प्रोडक्सन कन्सेप्टमा प्रदर्शन हुने सम्भावना रहेको छ। टाटाले अल्ट्रोज ह्याचब्याक यसै वर्ष उत्पादनमा प्रवेश गर्नेछ भने एसयूभीहरूको उत्पादन एक वर्ष वा सोभन्दा बढी समय लाग्नसक्ने अपेक्षा गरिएको छ।


Back_to_top