काठमाडौं । भारतको चर्चित राइड एण्ड सेयरिङ कम्पनी ओलाले उत्पादन गरेको एस वान इलेक्ट्रीक स्कुटर अब थप नयाँ कलरमा उपलब्ध हुने भएको छ । कम्पनीले ‘गेरुआ’ अर्थात् सुन्तला कलरमा यसलाई भारतीय बजारमा प्रस्तुत गरेको हो ।
ओलाले एस वान इलेक्ट्रीक स्कुटरमा आफ्नो फ्ल्यागशिप एसवान प्रोमा भएका लगभग सम्पूर्ण कलर अप्सनमा सार्वजनिक गरेको छ। यसमा कम्पनीले कलरको विकल्प प्रदान गरे पनि हालसम्म कुनै किसिमको मेकानिकल परिवर्तन वा मूल्य संशोधनको घोषणा भने गरेको छैन।
यसलाई विस्तृत रूपमा हेर्ने हो भने, ओला एस वान इलेक्ट्रीक स्कूटरमा एस वान प्रोको फ्रिडम एडिसन अन्तर्गत रहेको खाकीको हरियो रंग बाहेक यसको कलर प्यालेटमा अब मार्शमेलो अर्थात् पहेँलो, मिलेनियल पिंक, एन्थ्रेसाइट ग्रे, मिडनाइट ब्लू र म्याट ब्ल्याकमा प्रस्तुत गरिएको छ ।
ओला एस वानमा ८.५ किलोवाट क्षमताको मोटरको साथमा २.९८ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । यसले ५८ एनएम टर्क उत्पादन गर्दछ। यस स्कुटरले एकपटकको फुलचार्जमा १२० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।
पछिल्लो समय नेपालमा पनि ओला एस वान इलेक्ट्रीक स्कुटर बिक्री वितरण हुँदै आएको छ । यसलाई चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले नेपालमा आधिकारिक रूपमा भित्र्याएको हो । यससँगै, भारतमा दिइएको कलर अप्सन छिट्टै नेपालमा पनि आउने अनुमान गरिएको छ ।

