काठमाडौं । टाटाले नोभेम्बर २५ मा सार्वजनिक गरेको सियरा एसयूभी अहिले भारतमा खुबै चर्चा बटुलिरहेको छ । भारतीय अटोमोबाइल जाइन्ट भनेर चिनिने टाटाले आफ्नो एसयूभी लाइनअपलाई नै माथि उचाल्ने गरी ‘सियरा’ मोडल सार्वजनिक गरेको हो ।
सियरा एसयूभीको पेट्रोल र डिजेल भर्सनको बुकिङ खुला गरिसकेको टाटाले आगामी तीन महिना भित्रै इलेक्ट्रीक भर्सन पनि बजारमा ल्याउने घोषणा गरेको छ । टाटाको नयाँ एसयूभी सियराको ईभी भर्सन पनि लगभग आइसीई मोडल जस्तै देखिएको छ ।
टाटा मोटर्सले आधिकारिक रूपमै ईभीको तस्बिर यसअघि नै सार्वजनिक गरेको कारण आइसीई इन्जिन भएको गाडीको तुलनामा ईभीमा धेरै ठूलो परिवर्तन नहुने अनुमान गर्न सकिन्छ । टाटा सियरा ईभी आगामी मार्चसम्ममा बजारमा आइसक्ने छ ।
सिप्रदी ट्रेडिङले सियराको पेट्रोल भर्सन नेपालमा पनि ल्याउने बताएको छ । भारतमा ईभी लन्च हुने बित्तिकै नेपाली बजारमा पनि उपलब्ध हुनेछ । त्यसैले यसमा रहेका फिचरको विषयमा हामीलाई पनि धेरै चासो हुनु स्वभाविक हो ।

अहिले पेट्रोलियम पदार्थबाट चल्ने भर्सनमा उपलब्ध ड्युलजोन क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जर, हिटेड र भेन्टिलेटेड सिट, रियर सनसेड, पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा जस्ता कुरा ईभीमा पनि उपलब्ध हुनेछ ।
यसका अलावा मल्टिपल ड्राइभिङ मोड, फाइभ जी कनेक्टिभिटी, हार्मन कार्डनको साउण्ड सिस्टम, १२ वटा स्पीकर, लेदररेट सिट, मोर्डन ड्यासबोड र युनिक डिजाइनको स्टेरिङ ह्वील प्रयोग गर्नेछ ।
सियरामा अगाडिको प्यासेन्जरको लागि बोस मोड पनि उपलब्ध छ । पछाडिको सिट पनि फोल्ड गर्न मिल्नेगरी आउने छ । सुरक्षाको लागि टाटाका सबै एसयूभी अब्बल मानिन्छन् । ग्लोबल एनक्याप र भारत एनक्यापमा ५ स्टार क्र्यास टेस्ट रिपोर्ट आउने अनुमान गरिएको सियराको स्टायण्डर्ड भेरियन्टमै ६ एयरब्याग रहनेछ । कम्पनीले २२ सुरक्षा फिचर सहितको एडास लेभल टु यसमा दिनेछ ।
सियरा ईभीमा पनि तीनवटा स्क्रीन उपलब्ध हुनेछ । यसमा १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले र बाँकी दुईवटा १२.३ इन्चको कनेक्टेडे स्क्रीन छ ।

सबै किसिमका बाटोको लागि उपयुक्त दाबी गरिएको ‘जियोमेट्री स्केलेबल आर्किटेक्चर’ सियरा ईभी तयार पार्न लागिएको हो । भेरियन्ट अनुसार पेट्रोलियम पदार्थबाट चल्ने सियरमा १७ र १९ इन्चको अलोय ह्वील छ । सायद ईभीमा १९ इन्चकै ह्वील आउने छ ।
टाटा सियराले साइजको आधारमा हुन्डाई क्रेटा ईभी र महिन्द्रा बीई सिक्ससँग प्रतिस्पर्धा गर्नेछ । यसको लम्बाइ ४३४० एमएम, चौडाइ १८४१ एमएम र उचाइ १७१५ एमएम हुनेछ । बुट स्पेसको मामलामा पनि निकै उत्कृष्ट सियरा यसयूभीमा ६२२ लिटरको बुट स्पेस पाउन सकिन्छ । यसका अलावा २०० एमएम माथिको ग्राउण्ड क्लियरेन्स र २७३० एमएम लामो ह्वीलबेस यसको बलियो पक्ष हो ।
अहिलेसम्म सियरा ईभीमा रहने ब्याट्री र मोटरका विषयमा कुनै जानकारी बाहिर आएको छैन । सम्भवतः यसमा ५५ र ६५ किलोवाट आवरको एलएफपी ब्याट्री रहने छ ।

