तीन लाख मूल्य फरक भएका टियागो र विङ्गो ईभीमा कति फरक ?

काठमाडौं । ह्याचव्याक कारमा इलेक्ट्रीक मोडलहरुको प्रतिस्पर्धा सुरु भएको छ । यसअघि मिनी ह्याचव्याक र एसयूभीमा मात्रै इलेक्ट्रीक कारमा प्रतिस्पर्धा थियो, अब ह्याचव्याक सेग्मेन्टमा पनि राम्रै प्रतिस्पर्धा सुरु भएको हो ।

गत भदौ अन्तिम साता सार्वजनिक भएको टियागो ईभीले रेकर्ड बिक्री पाउन सफल भएको थियो । नेपाल आएको छोटो अवधिमा नै सर्वाधिक बिक्री पाउन सफल टियागो ईभीलाई नयाँ प्रतिस्पर्धी बजारमा थपिएको हो ।

मूल्यको हिसावले केही महंगो विलिङ विङ्गोले फिचरको आधारमा टियागोसँग राम्रै प्रतिस्पर्धा गर्ने देखिन्छ । तर, उपभोक्ताको मनलाई विलिङ ईभीले कति र कसरी जित्छ भन्ने थाहापाउन केही समय कुर्नु पर्ने हुन्छ ।

विलिङ विङ्गो हिजो (आइतबार)बाट मात्रै बिक्री सुरु भएको छ । इन्डोनेसियामा उत्पादन भएको विङ्गो र नेपाली बजारमा निकै सफल ह्याचव्याक टियागो बीच रहेका केही भिन्नतालाई हामीले यहाँ केलाउने प्रयास गरेका छौं ।

डिजाइन

टियागो परम्परागत ह्याचव्याक कार हो । यसलाई टाटाले इलेक्ट्रीक भर्सनमा ल्याएको हो । त्यसैले पृथक डिजाइनभन्दा रेगुलर डिजाइनमा नै सुरक्षीत कार खोज्नेको रोजाईमा टियागो ईभी पर्छ ।

विलिङ विङ्गो क्लासिकल डिजाइनमा तयार भएको ह्याचव्याक हो । प्योर इलेक्ट्रीक प्लेटफर्म भएको कारण यसको डिजाइन पृथक लाग्छ । क्लोजअफ ग्रिल, मोर्डन लाइट र इम्बोस्ड विलिङको लोगोले यसको अगाडिको भागलाई आकर्षक बनाएको छ ।

इन्टेरियरमा फरक

दुबै ब्राण्डले आफ्नो ह्याचव्याक कारको इन्टेरियर आकर्षक बनाउन राम्रै मिहिनेत गरेका छन् । टियागो ईभीमा रेगुलर ड्यासबोर्डसँगै आकर्षक इन्फोटेन्टमेन्ट सिस्टम, ब्लू कलर एसेन्टसहितको एसी भेन्ट, त्यसको ठिक तल दिइएको कन्ट्रोल बटमहरु, प्रिमियम लेदर सिट, लेदर र्याप स्टेरिङ ह्वील दिइएको छ ।

विलिङले विङ्गोमा १० इन्चका दुई एलसीडी प्यानल दिएको छ । जसमा एकातिर इन्ट्रुमेन्ट क्लष्टर र अर्कोतिर इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ । क्लासिक डिजाइनमा तयार पारिएको एसी भेन्ट, तीन कलर प्रयोग भएको ड्यासबोर्ड र टु स्पोक स्टेरिङ ह्वील दिइएको छ । यसमा पनि लेदर सिट उपलब्ध छ । साथै, चालकको सिट इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्नेछ ।

एउटै मोटर

टाटाले बिक्री गर्दै आएको टियागो ईभी टप स्पेक र विलिङ विङ्गोमा समान ४९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध छ ।

ब्याट्री साइज र रेन्ज

विलिङ विङ्गोमा ३१.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ । यसलाई सिंगल चार्जमा ३३३ किलोमिटर चलाउन सकिने कम्पनीको दावी छ ।

टाटा टियागो ईभीमा २४ किलोवाट आवर क्षमताको ब्याट्री छ । यसलाई सिंगल चार्जमा ३१५ किलोमिटर गुडाउन सकिने एआरएआईले प्रमाणित गरेको छ । तर, नेपालमा आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले २५० किलोमिटर रेन्ज दिने बताउँदै आएको छ ।

दुबै ह्याचव्याक कारले डिसी फास्ट चार्जर सपोर्ट गर्नेछ । त्यसले दुबै कारको प्रयोग हाइवेमा पनि हुनेछ ।

मूल्य

टाटाले अहिले टियागो टप स्पेकलाई २८ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको छ । जबकी विलिङको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले ३१ लाख ९९ हजार मूल्य तोकेर विङ्गो ईभीको बिक्री सुरु गरेको हो ।

यी दुई कारमा मूल्य भने ३ लाख रुपैयाँ फरक रहेको छ ।


Back_to_top