टुटललाई ३ करोड ३९ लाख कर निर्धारण, विभागले पनि कारबाही गर्ने

काठमाडौं । ‘राइड शेयरिङ’ का नाममा अवैध रुपमा मोटरसाइकलमा यात्रु बोक्ने प्लेटफर्म चलाउँदै आएको टुटल माथि सरकारले कर निर्धारण गरेको छ । ललितपुर कर कार्यालयले टुटललाई करिब ३ करोड ३९ लाख रुपैयाँ कर निर्धारण गरिएको जनाएको छ । 

टुटलले निजी सवारीमा भाडामा यात्रु बोक्ने काम मात्र गरेको छैन उसले उपभोक्ताबाट मूल्य अभिवृद्धि कर लिएर राज्यलाई बुझाएको समेत थिएन । टुटलको कारोबारको अनुसन्धान गरिरहेको ललितपुर कर कार्यालयका अनुसार सो कम्पनीमाथि आर्थिक वर्ष २०७२÷०७३, ०७३÷०७४ र चालु आर्थिक वर्षको कारोबारमा समेत मूल्य अभिवृद्धि कर निर्धारण गरिएको हो । 

कार्यालयले कम्पनीलाई कर निर्धारणको विषयमा जानकारी दिइ सकेको ललितपुर कर कार्यालयका प्रमुख उपसचिव लालबहादुर खत्रीले जानकारी दिए । ‘हामीले कर निर्धारण गरेर उहाँहरुलाई जानकारी गराएका छौं’, उनले भने ‘कर निर्धारणको विषयमा उहाँहरुले पत्र भने बुझिसक्नु भएको छैन ।’ 

टुटलले आफ्नो सेवा सुरु गर्दा ग्राहकसँग मूल्य अभिवृद्धि करसहितको बिलिङ गर्ने गरेको थियो । तर उसले उठाएको कर सरकारलाई बुझाएको थिएन । 

मूल्य अभिवृद्धि कर उपभोक्ताबाट उठाइने र त्यो शीर्षकमा पैसा उठाएर टुटलले सरकारलाई कर तिरेको थिएन । टुटलले संस्थागत आयकर पनि तिर्नुपर्ने ठहर कर कार्यालय गरेको र त्यही अनुसार एक मुष्टमा कर निर्धारण गरिएको कार्यालयको भनाई छ । 

टुटलको व्यवसायको प्रकृति कस्तो र त्यो कुन कानुनमा आधारित छ त्यो कर कार्यालयले जान्ने कुरा नभएको खत्रीले बताए । कर कार्यालयको सरोकार भनेको कर कानुनको परिपालना भएको छ वा छैन त्यो हेर्ने र नभएको भए कारोबारका आधारमा कर निर्धारण गर्ने भएएको उनको भनाई छ । 

राइड शेयरिङका नाममा मोटरसाइकलमा भाडाको यात्रु बोक्ने टुटलरजस्तै अर्को कम्पनी पठाओका कारोबारमा समेत प्रश्न उठेको छ । पठाओको विषयमा भने पुतलिसडक कर कार्यालयले अनुसन्धान गरि रहेको जनाएको छ । 

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार निजी सवारी (रातो नम्बर प्लेट) ले भाडामा यात्रु बोक्न नपाइने स्पष्ट व्यवस्था रहेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दहालले पनि टुटल र पठाओको सेवा कानुनसम्मत नभएको भन्दै बन्द गर्नुपर्ने बताएका छन् । केही महिनाअघि टुटलका राइडरलाई ट्राफिक प्रहरीले कारबाही गर्न थालेपछि यो विषय थप बहसमा आएको हो । 


Back_to_top