गाडी वासिङ्ग सेवाः यसरी गर्नुस् थोरै लगानीमा मोटो आम्दानी

काठमाडौं । नेपालमा गाडी चढ्ने संख्यामा बृद्धि हुन थालेसँगै योसँग सम्बन्धित अन्य ब्यवसायका ढोकाहरु पनि खुल्न थालेका छन् । त्यसको उदाहरणको लागि गाडी ‘सर्भिस स्टेशन’ र ‘कार वास’लाई लिन सकिन्छ । 

पछिल्लो समयमा त झन् स्वचालित कार वासिङ मेसिनहरु पनि भित्रन थालिसकेका छन् । यद्यपी, यसमा लगानी भने मोटै लाग्छ । 

अन्तर्राष्ट्रिय बजारमा नै सामान्य खाले स्वचालित कार वास मेसिनको २० हजार डलर भन्दा बढि पर्छ । त्यसपछि सञ्चालन, कर्मचारीलगायत अन्य खर्चहरु समेत जोड्दा लगानी ठूलै हुन जान्छ । 

सामान्य खाले कार वासमा पनि जग्गा भाडा, पानी बोरिङ, संरचनाहरुको निर्माण जस्ता कुरामा राम्रै लगानी लाग्ने गरेको छ ।

तर, विदेशमा भने घुम्ती कार वास सेवा राम्रो ब्यवसायको रुपमा उदाइसकेको छ । कम सञ्चालन खर्च, ग्राहकहरुलाई उनीहरुले भनेकै समयमा, भनेकै ठाउँमा (घर, अफिस, ग्यारेज आदी)मा सेवा दिन सकिने हुँदा यो सेवा ग्राहकहरु माझ धेरै लोकप्रिय भैसकेको छ । 

यस्ता व्यवसाय ग्राहकमाझ लोकप्रिय भएपछि त झन् ब्यवसायी माझ लोकप्रिय हुने नै भयो । 

ब्यवसाय शुरु गर्नुभन्दा अघि केही सामान्य अध्ययन अनुसन्धान भने गर्नु पर्छ । कार वास सम्बन्धी ज्ञान यो ब्यवसायको पूर्वर्सत हो । ब्यवसायमा आइरहेका पछिल्ला ट्रेन्डहरु, प्रविधिहरुको जानकारी पनि महत्वपूर्ण हुन्छ । 

कहाँ गर्ने व्यवसाय ?

आफ्नो कार्यक्षेत्रको निर्धारण यो ब्यवसायका लागि महत्वपूर्ण हुन्छ । यो ब्यवसाय शुरु गर्न चाहनेले क्लबहरु, जिम, पार्किङ एरिया, ब्यवसायीक क्षेत्रहरु र बाक्लो बस्ती भएको ठाउँहरुमा आफुलाई केन्द्रित गर्नु उपयुक्त हुन्छ । 

खुल्ला जग्गा र अन्य भौतिक संरचना नचाहिने हुनाले यो ब्यवसाय छरितो छ । तर, यसका लागि आफ्नै खाले साधन स्रोतको भने जरुरी पर्छ । 

यो ब्यवसायको लागि चाहिने सबैभन्दा आधारभुत बस्तु भनेको एउटा गाडी हो । भित्र सर–सामान राख्ने ठाउँ भएको मझौला आकारको गाडी यो ब्यवसायको आधारभुत आवश्यकता हो । भ्यान जस्ताे गाडी भए सजिलो हुन्छ, अधिकांश अवस्थामा । नयाँ गाडी किन्ने बजेट नभए पुरानो गाडीबाट पनि राम्रै काम चलिहाल्छ ।  

गाडीका अलावा अन्य के–के सामान चाहिन्छ भन्ने कुरा ब्यवसायीले आफ्ना ग्राहकहरुलाई के–कस्तो सेवा दिन चाहन्छ भन्ने कुरा मै निर्भर हुन्छ । तर, पनि आधारभुत सामग्री भनेको तौलीया, गाडी धुने साबुन, गाडी ‘वयाक्स’, टायर ‘साइन’, बाल्टीनी, स्पोञ्ज, ब्रस, पानीको फोहरा आदी हुन् । सानो वा मझौलो पानी ट्याङकी त झन् चाहिनैहाल्यो । 

ब्यवसायीहरुले यी सबै सामानको जोहो गर्न सके यो ब्यवसाय तुरुन्तै शुरु गर्न सकिन्छ । र, घाटा हुने संभावना निकै कम हुन्छ । किनभने यो ब्यवसायमा सबैभन्दा ठूलो लगानी भनेको गाडी हो, जुन ब्यवसाय असफल भएको वा निरन्तरता दिन मन नलागेको खण्डमा बिक्री वा अन्य प्रयोजनमा लगाउन सकिन्छ । 

कस्तो सेवा दिन सकिन्छ यो ब्यवसायमा ?

यो ब्यवसाय अन्तर्गत मुलत दुई थरिको सेवा दिन सकिन्छ । आन्तरिक र बाह्य । बाह्य अन्तर्गत गाडी धुने, टायर सफा गर्ने आदि हुन्छ, भने आन्तरिक अन्तर्गत भ्याक्युम गर्ने, झ्याल सफा गर्ने, सिट सफा गर्ने कामहरु पर्छन् । साथै, इन्जिन सफा गर्ने, व्याक्स गर्ने, हेडलाइट सफा गर्ने र मोबिल फेर्ने जस्ता कामहरु पनि गर्न सक्छन् । 

घुम्ती सेवा भएका कारण मूल्य केही बढाएर लगाए पनि भयो । तर, कम लगानी र सञ्चालन खर्च कम भएका कारण सामान्य कार वारभन्दा सस्तो मै गरे पनि भयो । आफ्नै ब्यवसायीक रणनीति तय गरे भैहाल्यो । ब्यवसाय प्रर्वद्धन र प्रचारका लागि मिडिया र सामाजिक सञ्जालहरु छँदैछन् । 


Back_to_top