बजेटले थला पारेको चल्तीका ३ मोटरसाइकल

काठमाडौं । सरकारले बढाएको भन्सार र अन्तःशुल्कको कारण रोयल इनफिल्ड, होन्डा र जावाका मोटरसाइकल समस्यामा परेका छन् । यी कम्पनीले वार्षिक ७ हजार यूनिट हाराहारी विक्री गर्ने क्लासिक मोटरसाइकलहरु चर्को करको कारण समस्यामा परेका हुन् ।

रोयल इनफिल्ड क्लासिक ३५० र मेटोर ३५०, होन्डा हाइनेस सिबी ३५० र सिबी ३५० आरएस, जावा फोर्टी टु तथा जावा क्लासिक सबै मोडलको मूल्यमा राम्रो असर पर्ने देखिएको छ । अहिले ६ देखि ८ लाख भित्र मूल्य रहेका यी मोटरसाइकलमा अब ८ लाखदेखि १० लाखसम्म मूल्य पर्ने देखिन्छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै २५० सीसी माथि ५०० सीसीसम्मका मोटरसाइकलमा ७० प्रतिशत भन्सार र ८० प्रतिशत अन्तःशुल्क लगाएसँगै यी मोटरसाइकलको आयात निकै कठिन हुने देखिएको छ ।

यसअघि यी मोटरसाइकलमा ३० प्रतिशत भन्सार र ८० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा ४० प्रतिशतले भन्सार वृद्धि भएको हो । भन्सारमा भएको वृद्धिले अन्तःशुल्क र मूल्य अभिवृद्धि कर (भ्याट)मा समेत असर गर्ने भएको कारण यी मोटरसाइकलमा राम्रै मूल्य बढ्ने देखिन्छ ।

नेपालमा रोयल इनफिल्ड यो सेग्मेन्टमा सबैभन्दा धेरै मोटरसाइकल विक्री गर्ने ब्राण्ड हो । विगत लामो समयदेखि नेपालमा विक्री हुँदै आएको रोयल इनफिल्ड अहिले वार्षिक ६ हजार यूनिट हाराहारी विक्री हुँदै आएको छ ।

होन्डा र जावाका दुबै मोटरसाइकल कोभिड १९ संक्रमणकै बीचमा नेपाल आएका हुन् । छोटो अवधिमा नै यी मोटरसाइकलले नेपालमा राम्रो विक्री पाइरहेका थिए । विशेषत लामो यात्रामा निस्कने र क्लासिक डिजाइन रुचाउने ग्राहकको छनोटमा पर्ने यी मोटरसाइकल किन्नेले अतिरिक्त २ लाख रुपैयाँ खर्च गर्नु पर्ने भएको छ ।


Back_to_top