अझै सुरू हुन सकेन ट्याक्सी वर्गीकरण, यस कारण रोकियो

काठमाडौं । सरकारले ट्याक्सी वर्गीकरण गर्ने नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको १ महिना बित्न लागे पनि अझै काम भने सुरू हुन सकेको छैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत चैत १४ गते स्वीकृत गरी २०८२ वैशाख ४ गतेदेखि ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड, २०८१’ कार्यान्वयनमा ल्याएको थियो । उक्त मापदण्ड अनुसार सुविधा र साइजका आधारमा ट्याक्सीलाई साधरण, विशेष (डिलक्स) र विशिष्ट (लग्जरी) गरी ३ वर्गमा वर्गीकरण गर्ने व्यवस्था गरिएको थियो ।

तर, सरकारले नयाँ मापदण्ड लागू गरेको १ महिनामा बित्दा पनि आफैंले बनाएको मापदण्ड कार्यान्वयन गर्न सकेको छैन । यातायात व्यवस्था विभागले केही प्राविधिक समस्या देखिएको भन्दै ट्याक्सी वर्गीकरणको काम सुरू गर्न नसकेको हो ।

ट्याक्सी वर्गीकरणका लागि कानुनी समस्या नरहे पनि केही प्राविधिक समस्या देखिएको विभागका एक अधिकारीले बताए । उनका अनुसार प्राविधिक समस्या बारे मन्त्रालयलाई जानकारी गराइएको र जवाफ कुरिरहेको अवस्था छ ।

‘ट्याक्सी वर्गीकरणका लागि कुनै कानुनी समस्या छैन् । स्पष्ट मापदण्ड तोकिएको छ,’ उनले भने, ‘तर, केही प्राविधिक समस्या देखिएको छ । ती समस्या सुधारका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जानकारी गराएका छौं । मन्त्रालयबाट जे निर्देशन आउँछ, सोही अनुसार वर्गीकरणको काम अघि बढाउँछौं ।’

उनका अनुसार ट्याक्सी वगीकरण गर्न मुख्यगरी दुई वटा प्राविधिक समस्या देखिएका छन् । ट्याक्सीमा सीसी क्यामेरा जडान र ईभीको मोटर पावरमा कम्बस्चनको जस्तै १.५ प्रतिशत कमको सुविधा दिने कि नदिने भन्ने प्रश्न उठेको उनले बताए ।

‘यात्रुको सुरक्षाका लागि ट्याक्सीमा सीसीटीभी क्यामेरा राख्ने भनिएको छ । तर, सीसीटीभी क्यामेरा राख्दा यात्रुको गोपनियता हनन् हुने कुरा पनि उठेको छ,’ उनले भने, ‘यसबारे टुंगो लगाउनु पर्ने देखिएकाले मन्त्रालयसँग राय मागिएको हो ।’

साधरण ट्याक्सीमा अंग्रेजी अक्षर ‘ओ’, डिलक्स ट्याक्सीमा ‘डी’ र लग्जरी ट्याक्सीमा ‘वाइ’ लेखिएको स्टिकर टाँस्नुपर्ने छ ।

नयाँ मापदण्डमा कम्बस्चन इन्जिनवाला ट्याक्सीमा तोकिएको सीसीभन्दा १.५ प्रतिशत क्षमता कम भए पनि हुन सक्ने प्रावधन राखिएको छ । तर, विद्युतीय ट्याक्सीको मोटर क्षमतामा कुनै सीमा तोकिएको छैन । यस्तोमा ईभी ट्याक्सीलाई पनि कम्बस्चनकै सरह सुविधा दिने कि अहिले तोकिएकै लागू गर्ने भन्नेमा अन्योल भएको ती अधिकारीले बताए ।

मन्त्रालयबाट जवाफ आएपछि प्रदेशहरुलाई ट्याक्सी वर्गीकरणका लागि पत्रचार गरिने उनले बताए ।

कस्ता हुन्छन् ३ वर्गका ट्याक्सी ?

नयाँ मापदण्ड अनुसार साधरण ट्याक्सीमा दर्ता हुने सवारी साधन पेट्रोलबाट चल्नेको हकमा कम्तीमा १ हजार सीसीभन्दा (१.५ प्रतिशतसम्म कम) बढी क्षमताको हुनुपर्नेछ ।

त्यस्तै, विद्युतीय सवारी (ईभी)को हकमा ४० किलोवाट वा सोभन्दा बढी क्षमताका मोटर भएका गाडी मात्रै ट्याक्सीको रूपमा दर्ता हुने छन् । त्यस्तै, कम्बस्चन र ईभी दुवै ट्याक्सीमा ६५ न्युटन मिटर टर्क जेनेरेट गर्ने इन्जिन वा मोटर, २३०० ह्वीलबेस र १६० लिटरको बुटस्पेश भएको हुनुपर्नेछ ।

त्यसैगरी, डिलक्स ट्याक्सीमा दर्ता हुने सवारी पेट्रोलको हकमा १२०० सीसी र ईभीको हकमा ५० किलोवाटको मोटर हुनुपर्नेछ । दुवैमा ८० न्युटन मिटर टर्क जेनेरेट गर्ने इन्जिन वा मोटर, २५०० ह्वीबेस र २०० लिटर बुट स्पेश हुनुपर्नेछ । साथै, टच स्क्रीनसहितको डिस्प्ले, विद्युतीय स्वीचबाटै झयाल खोल्न र बन्द गर्न सकिने, एसी हुनुपर्नेछ ।

त्यस्तै, लग्जरी ट्याक्सीमा दर्ता हुने पेट्रोलबाट चल्नेको हकमा कम्तीमा २ हजार सीसी वा सोभन्दा बढी र ईभीको हकमा १०० किलोवाट क्षमताको मोटर हुनुपर्नेछ । त्यसैगरी, १७० न्युटन मिटर टर्क, २७०० ह्वील बेस, ४०० लिटरको बुट स्पेश हुनुपर्नेछ ।

कसरी चिन्ने ?

यात्रुको जानकारीका लागि हरेक ट्याक्सीमा स्पष्ट रूपमा आफ्नो वर्ग जनाउने संकेत चिह्न राख्नुपर्ने व्यवस्था गरिएको छ । जस अनुसार साधरण ट्याक्सीमा अंग्रेजी अक्षर ‘ओ’ लेखिएको स्टिकर टाँस्नुपर्नेछ । त्यस्तै, डिलक्स ट्याक्सीमा ‘डी’ र लग्जरी ट्याक्सीमा ‘वाइ’ लेखिएको स्टिकर टाँस्नुपर्ने छ ।

लग्जरी ट्याक्सीको भाडा दोब्बर हुने

ट्याक्सीको वर्ग अनुसार भाडादर पनि फरक-फरक हुने व्यवस्था गरिएको छ । साधारण वर्गको ट्याक्सीको भाडादर नेपाल सरकारले तोके अनुसार हुनेछ । डिलक्स ट्याक्सीको भाडा साधारणकोभन्दा २० प्रतिशत बढी र लग्जरी ट्याक्सीको भाडादर साधारणकोभन्दा दोब्बर अर्थात् १०० प्रतिशत धेरै हुनेछ ।


Back_to_top