काठमाडौं । नेपाली बजारमा चाँडै ५ नयाँ एसयूभी आउने भएका छन् । चार चिनियाँ र एक भारतीय ब्राण्डको नयाँ एसयूभी आउने भएका हुन् ।
यसरी आउने एसयूभीले बजारमा कस्तो प्रभाव पार्ला भन्ने उपभोक्तादेखि बिक्रेतासम्मलाई चासो बढ्दै गएको छ ।
आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८२/८३ को बजेटले विद्युतीय सवारी साधनमा कस्तो किसिमको कर नीति लिन्छ, त्यही अनुसार नयाँ मोडल ल्याउने तयारीमा आयातकर्ता कम्पनीहरू छन् । सबै कम्पनीहरूले बजेट अगाडि स्याम्पल युनिटसम्म आइपुग्न सक्ने जनाएका छन् ।
अहिले नै बजारमा ईभीमा थुप्रै छनोट पाउन सकिन्छ । अब आउने नयाँ मोडलहरूले कस्तो व्यापार गर्लान् भन्ने जिज्ञासा धेरैमा पाइन्छ । निश्चय पनि नयाँ आउने मोडल पुरानाको तुलनामा केही आधुनिक र मोर्डन डिजाइनबाट प्रेरित त हुन्छन् नै । किनेर ल्याउने मूल्य पनि सस्तै हुन्छन् ।
चीनमा चलिरहेको तीव्र प्रतिस्पर्धाले विश्वभर ईभीको मूल्यमा ‘वार’ नै चलिरहेको छ भन्दा फरक पर्दैन । त्यसैले नयाँ आउने ईभीको मूल्य धेरै हदसम्म नेपालले लिने कर नीतिमा भरपर्छ ।
महिन्द्रा ‘एक्सईभी नाइन ई’ : महिन्द्राले भारतमा एकसाथ बिक्री सुरू गरेको बीई-सिक्स र एक्स ईभी नाइन ई दुवै मोडल नेपाल आउँदैछन् । दुवै मोडलको डेमो भेहिकल आधिकारिक बिक्रेता अग्नी इनकपोरेट प्रालिले नेपाल ल्याउने भएको हो ।
भारतमा बीइ-सिक्सको तुलनमा एक्स ईभी नाइन ईले राम्रो व्यापार गरिरहेको कारण नेपालमा पनि यही मोडलको चर्चा हुने अनुमान गरिएको छ । महिन्द्राको दुवै एसयूभीमा ७९ किलोवाट आवरको ब्याट्री छ ।
महिन्द्राका दुई एसयूभी मोर्डन डिजाइन र आधुनिक फिचरको लामो लिष्ट समावेस भएको मोडल हो । यसको रेन्ज पनि ५०० किलोमिटर माथि हुनेछ । सम्भवत २०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा दुवै मोडल नेपाल आउने छन् ।
फरथिङ फ्राइडे : डोङफेङको फरथिङ ब्राण्डमा फ्राइडे एसयूभी नेपाल आइपुगेको छ । डोङफेङको एसयूभी पनि तत्काल बिक्रीको लागि नभएर परीक्षणको लागि नेपाल आइपुगेको लक्ष्मी इमोबिलिटीले जनाएको छ ।
यसमा ९९ किलोवाटको मोटर दिएको छ । फरथिङ एसयूभीमा ६४.४ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्रीप्याक छ । उक्त ब्याट्रीलाई फुल चार्जगर्दा ४०० किलोमिटरसम्म चलाउन सकिनेछ ।
दीपल एस-फाइभ : बजेट अगाडि नै नेपाल आउने चर्चा भएको दीपल एस-फाइभ मोडल थाइल्याण्डमा उत्पादन भएर नेपाल आउने भएको कारण केही ढिला भएको एमएडब्लू वृद्धिले जनाएको छ । राइट ह्याण्ड ड्राइभ बजारको लागि एस-फाइभ थाइल्याण्डमा उत्पादन सुरू भइसकेको छ ।
छिट्टै टेस्ट भेहिकल नेपाल आउने कम्प्याक्ट एसयूभी एस-फाइभको अन्तर्राष्ट्रिय स्पेकमा १७५ किलोवाटको मोटर छ । नेपाल कुन मोटर साइजमा आउँछ अहिल्यै एकिन साथ भन्न सकिँदैन । यसमा ५६.१२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक दिएको छ । सिंगल चार्जमा यसको रेन्ज ४०० किलोमिटर आसपार रहने अनुमान गर्न सकिन्छ ।
जेको भी-२३ : ओमोडा/जेको ब्राण्डमा आउने चेरीको आइकार भी-२३ नेपाली बजारमा भने जेको भी-२३ नामबाट नेपाल ल्याउने छ । बजेट लगत्तै डेमो भेहिकल नेपाल आउने आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा जस्तै नेपाली बजारमा रियर ह्वील ड्राइभ १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा आउने भी-२३ मा ५९.९३ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । यसले पनि सिंगल चार्जमा ४०० किलोमिटर आसपास रेन्ज दिनेछ ।
लीपमोटर बी-१० : स्टेलान्टिस ग्रुपको प्रवेशसँगै आक्रमक बजार विस्तारमा लागेको लीपमोटर बी-१० अर्को चाँडै नेपाल आउने मोडल हो । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने लीपमोटर बी-१० साँग्रिला मोटर्सले नेपाल ल्याउने छ । सी-१० एसयूभीको सफलतापछि नेपाल आउन लागेको बी-१० साइजमा भने सी-१० भन्दा सानो छ ।
कम्पनीले १६० किलोवाटको मोटर दिएर ल्याउन लागेको बी-१० एसयूभीमा ५६ र ६७ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाउन सकिन्छ । यसको पनि रेन्ज भने लगभग ४०० किलोमिटर हाराहारी नै हुनेछ ।