चीनमा २० लाख टेस्ला कार उत्पादन पुरा, १३ महिनामै १० लाख उत्पादन

काठमाडौं । अमेरिकी लग्जरी ईभी ब्राण्ड टेस्लाले चीनको संघाई गिगा प्लान्टबाट २० लाख यूनिट कार उत्पादन पुरा गरेको छ । सन् २०१९ को अन्त्यबाट उत्पादन सुरु भएको संघाई प्लान्टबाट सन् २०२२ को अगस्टमा १० लाख यूनिट कार उत्पादन भएको थियो ।

पहिलो १० लाख कार उत्पादन गर्न ३३ महिना लागेको टेस्लालाई दोस्रो १० लाख यूनिट उत्पादन गर्न भने केबल १३ महिना लाग्यो । संघाई प्लान्टबाट टेस्लाले आफ्नो मोडल थ्री सेडान र मोडल वाई क्रसओभर उत्पादन गर्दै आएको छ ।

टेस्लाले सन् २०१९ को जनवरी ७ बाट प्लान्ट निर्माण सुरुगरी त्यही वर्षको अन्त्यबाट चीनमा कार उत्पादन सुरु गरेको थियो । टेस्लाको यो प्लान्ट चीनमा रहेको पहिलो पूर्ण स्वामित्वको विदेशी अटोमोवाइल कम्पनीको ब्राण्ड हो । अन्य ब्राण्डले भने स्थानीय साझेदार राखेर मात्रै उत्पादन गर्न पाएका थिए ।

टेस्लाको संघाई गिगा फ्याक्ट्रीमा प्रत्येक ४० सेकेन्डमा एउटा कार उत्पादन भइरहेको छ । गिगा संघाईमा ६ हजार टन तौल भएको डाईकास्टीङ मशिन रहेको छ । उक्त मशिनले एकै पटक ७० प्रतिशत गाडी तयार गर्छ । यो प्लान्टमा धेरैवटा रोबर्टहरुले संयुक्त रुपमा कामगरी ९५ प्रतिशत काम अटोमेटेड हुने गरेको छ । उक्त प्लान्टको बार्षिक क्षमता नै १० लाख यूनिट रहेको छ ।

साथै, यो प्लान्टले ९३ प्रतिशत इण्ड्रष्ट्रियल वेस्ट र ९८ प्रतिशत इण्ड्रष्ट्रियल वाटरलाई रिसाइकल गर्छ । यहाँ वर्षको ४ लाख टन पानी रिसाइकल हुने गरेको छ । उक्त प्लान्टले ९५ प्रतिशत पार्टसहरु लोकल सप्लायरबाट किन्छ भने ९९.९ प्रतिशत कामदार चिनियाँ प्रयोग गरेको छ ।


Back_to_top