बजेटपछि टेस्लाले सार्वजनिक गर्‍याे नयाँ मूल्य

काठमाडौं । टेस्लाको नेपालको बिक्रेता अरेटी इन्टरनेशनलले मोडल थ्री र मोडल वाई बिक्री गर्दै आएको छ । बजेटले करका दर परिवर्तन गरेपछि कम्पनीले बिक्री गर्दै आएको मोडल थ्रीमा कम्पनीले करिब २० लाख रुपैयाँ मूल्य घटाएको छ ।

जेठ १५ गते आएको नयाँ बजेटले १०० देखि २०० किलोवाट पीकपावर क्षमता भएका विद्युतीय गाडीमा लाग्दै आएको ३० प्रतिशत भन्सार महशुल र ३० प्रतिशत अन्तःशुल्कलाई घटाएर २० प्रतिशत भन्सार महसुल र २० प्रतिशत अन्तःशुल्क कायम गरेपछि टेस्ला मोडल थ्रीको मूल्य घटेको हो ।

टेस्ला मोडल थ्रीमा पीकपावर १९८ किलोवाट क्षमताको मोटर रहेको छ । यसअघि कम्पनीले १ करोड ५० लाख मूल्य तोकेर बिक्री गर्दै आएको मोडल थ्री अब ग्राहकले १ करोड ३० लाख अधिकतम खुद्रा मूल्यमा किन्न पाउने छन् । साथै, कम्पनीले यो मोडल किन्ने ग्राहकलाई ५ लाखसम्म नगद छुट दिन सकिने जनाएको छ ।

टेस्लाले बिक्री गर्दै आएको मोडल वाई भने दुई भेरियन्टमा पाउन सकिन्छ । यसको रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ अप्सन नेपालमा उपलब्ध रहेको छ । यसको रियर ह्वील ड्राइभ भेरियन्टमा २०९ किलोवाट क्षमताको मोटर छ भने अल ह्वील ड्राइभ भेरियन्टमा २९१ किलोवाट पीकपावर भएको मोटर उपलब्ध छ ।

यी दुबै भेरियन्टमा २०० देखि ३०० किलोवाट क्षमतामा लाग्ने ४५ प्रतिशत भन्सार र ४० प्रतिशत अन्तःशुल्क लाग्ने ब्यवस्था नयाँ बजेटले गरेको छ । सरकारले यसमा लाग्दै आएको अन्तःशुल्क ५ प्रतिशतले घटाएको हो ।

कम्पनीले यसअघि २ करोड २० लाख मूल्य तोकेर बिक्री गर्दै आएको अल ह्वील ड्राइभ मोडल वाईको नयाँ मूल्य २ करोड ५ लाख बनाएको छ । त्यसैगरी रियर ह्वील ड्राइभको पुरानो मूल्य २ करोड ५ लाख रहेकोमा १ करोड ९० लाख बनाएको हो । यी दुबै भेरियन्टमा कम्पनीले केही थप छुट दिन सक्ने जनाएको छ ।


Back_to_top