काठमाडौं । विद्युतीय कारको माग वृद्धि भएसँगै दुई नयाँ इलेक्ट्रीक एसयूभी नेपाली बजारमा आउने भएका छन् । नेपाल आउने क्रममा रहेका दुबै एसयूभी एमजी जेडएस र बीवाइडी एटो थ्रीका प्रतिस्पर्धी मोडल हुन् ।
चिनियाँ कम्पनी डिएफएसके सेरेसले उत्पादन गरेको ‘ई-थ्री’ र चेरीले उत्पादन गरेको अमोडा-फाइभ इलेक्ट्रीक एसयूभी नेपाल आउन लागेको हो । यी दुई मध्ये डिएफएसके सेरेस एसयूभी जुलाई महिना मै नेपाल आउने छ भने चेरीको एसयूभी आगामी नाडा अटो शो २०२३ मा प्रदर्शनी हुनेछ ।
सेरेस ई-थ्री
जुलाई महिनामै नेपालमा बिक्री सुरु हुने सेरेसको उत्पादन एमएडब्लू वृद्धि मोटोकर्पले ल्याउन लागेको हो । मिडसाइज एसयूभी सेग्मेन्टमा आउने एसयूभीले एमजी जेडएस र बीवाइडी एटो थ्री जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
सेरेस इ-थ्रीको पीकपावर १०० किलोवाट रहने छ । यो एसयूभी १५५ किलोमिटर प्रतिघन्टाको उच्चगतिमा दौडन सक्छ । यसको लम्बाई ४३८५ एमएम, चौडाई १८५० एमएम र उचाई १६५० एमएम रहेको छ । २६५५ एमएमको ह्वीलवेस दिएको र १८० एमएमको ग्राउन्ड क्लियरेन्स यसमा पाउन सकिन्छ । यसमा १८ इन्चको ह्वील रहेको छ ।

यसको इन्टेरियर पनि प्रिमियम रहने छ । ड्यासबोर्डमा १०.२५ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट सिस्टम, रोटरी गियर सेलेक्टर, इलेक्ट्रोनिक पार्किङ बे्रक, वायरलेस चार्जर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, ३६० डिग्री क्यामरा, हिटेड फ्रन्ट सिट, प्यानारोमिक सनरुफ, हिल असिस्ट, अटो होल्ड तथा ६ वटा एयरब्याग उपलब्ध हुनेछन् ।
यसमा दिएकोे रिभर्स व्याक हेडल्याम्प, स्लीक एलइडी हेडलाइट र फगल्याम्प पनि पाउन सकिन्छ । कम्पनीको आधिकारीक वेभसाइटका अनुसार यो एसयूभीमा ५३.६१ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिइएको छ । एनइडीसीका अनुसार यसले सिंगल चार्जमा ४०५ किलोमिटर रेन्ज प्रदान गर्छ ।
चेरी अमोडा-फाइभ
चिनियाँ मोटर कम्पनी चेरीले संघाईमा जारी अटो शोमा ‘ओमोडा-फाइभ’ एसयूभी भदौ अन्तिममा हुने नाडा अटो शो २०२३ मा प्रदर्शनी गर्ने तयारी भइरहेको छ ।
चीनमा चेरीले ल्याएको ओमोडा फाइभ ईभीको उत्पादन सुरु भइसकेको छ । ओमोडा-फाइभमा ६४ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिङ्गल चार्जमा ४५० किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ । यो पनि नेपाली बजारमा १०० किलोवाट क्षमताको मोटरमा उपलब्ध हुनेछ ।
ओमोडा फाइभ ईभीले डिसी फास्ट चार्जर सपोर्ट गर्छ । डिसी चार्जरबाट ४० मिनेटमा नै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने ७.२ किलोवाटको एसी चार्जरले पाँच घण्टामा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

चेरीले यसअघि इन्टरनल कम्बस्चन इन्जिनमा पनि ओमोडा फाइभ विक्री गर्दै आएको भएपनि ईभी कम्बस्चनको तुलनामा भिन्न डिजाइनमा तयार भएको छ । ईभी प्रेरित ग्रिल, बोल्ड डिजाइन र स्टाइलिस पछाडिको भागले यसलाई निकै स्पोर्टी लुक्स प्रदान गरेको छ ।
त्यस्तै, यसको इन्टेरियर प्रिमियम फिचरले भरिपूर्ण छ । फिचर लोडेड ईभीको रुपमा तयार भएको अमोडामा आकर्षक स्टेरिङ ह्वील, मोडर्न ड्यासबोर्ड र लग्जरी सिटको पाउन सकिन्छ ।

