काठमाडौं । भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरोले १२५ सीसी सेग्मेन्टमै प्रिमियम मोटरसाइकल बजारमा ल्याउने भएको छ ।
इन्ट्री लेभल सेग्मेन्टको बादशाह भनेर चिनिने हिरो विश्वकै धेरै मोटरसाइकल उत्पादन र बिक्री गर्ने ब्राण्ड हो । कम्पनीले मासिक झण्डै तीन लाख यूनिट मोटरसाइकल इन्ट्री लेभल सेग्मेन्टमै बिक्री गर्दै आएको छ ।
प्रिमियम सेग्मेन्टमा टीभीएस रेडरले हालै मात्र ३ लाख यूनिटको माइलस्टोन पार गरेसँगै अन्य ब्राण्डले पनि यो सेग्मेन्टमा नयाँ उत्पादन ल्याउन लागेका हुन् । हिरोसँग १२५ सीसी सेग्मेन्टमा हाल ग्ल्यामर र सुपर स्प्लेन्डर उपलब्ध भएतापनि यी दुबै मोटरसाइकल स्पोर्टी सेग्मेन्टमा पर्दैनन् ।
हिरोले यही १२५ सीसी सेग्मेन्टमा प्रिमियम मोटरसाइकल ल्याउने तयारी गरेको हो । कम्पनीले सार्वजनिक गरेको डिजाइन स्केचलाई आधार मान्दा अब आउने नयाँ मोटरसाइकल निकै स्पोर्टी देख्न सकिन्छ ।
त्यस्तै कम्पनीले १२५ सीसी सेग्मेन्टमा नै कम्युटर मोटरसाइकल पनि ल्याउने तयारी गरिरहेको छ । सम्भवत यो मोटरसाइकल हिरो ग्ल्यामर १२५ मा नै आधारित रहने छ ।
तत्कालका यी मोटरसाइकल बजारमा आउने छैनन् । कम्पनीले २०२५ को अन्त्यसम्ममा मात्रै १२५ सीसी सेग्मेन्टमा प्रिमियम मोटरसाइकल ल्याउने अनुमान गर्न सकिन्छ ।

