काठमाडौं । अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्लाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कलाई २९ अर्ब अमेरिकी डलर (करिब ३२ खर्ब २४ रुपैयाँ) बराबरको सेयर प्रदान गर्ने घोषणा गरेको छ ।
टेस्लाले मस्कलाई ९ करोड ६० लाख कित्ता सेयर दिने भएको हो । सन् २०१८ भएको १० वर्षको तलब प्याकेज अनुसार मस्कले उक्त सेयरका लागि २ अर्ब डलर मात्रै तिर्नेछन् ।
यो कदम मस्कलाई कम्पनीको नेतृत्वमा टिकाइराख्न तथा भविष्यमा उनको ध्यान टेस्लाको मिशनमा केन्द्रित गराउनका लागि लिइएको टस्लाले जनाएको छ ।
‘अहिले एआईमा दक्ष प्रतिभाहरू खोसाखोस भइरहेको छ । यस्तो अवस्थामा इलनलाई टेस्लामा राख्नु आवश्यक छ । उनको नेतृत्व कौशल र प्राविधिक सीप अतुलनीय छ,’ टेस्लाले भनेको छ ।
यसअघि सन् २०१८ मा मस्कलाई दिइएको ५० अर्ब डलरभन्दा बढीको तलब प्याकेज अमेरिकी अदालतले खारेज गरिदिएको थियो । डेलावेयर अदालतले उक्त प्याकेज सेयरधनीहरूका लागि ‘अनुचित’ भएको ठहर गर्दै खारेज गरेको थियो । मस्कले अदालतको सो निर्णयविरुद्ध पुनरावेदन मुद्दा दायर गरेका छन् ।
यद्यपि, अदालतले मस्कका पक्षमा फैसला गरेर सन् २०१८ को तलब प्याकेज पुनः बहाल गरेमा मस्कले नयाँ सेयर प्याकेज फिर्ता गर्ने टेस्लाले प्रष्ट पारेको छ ।
मस्क टेस्लाको सबैभन्दा ठूलो शेयरधनी हुन् । हाल उनको टेस्लामा १३ प्रतिशत स्वामित्व रहेको छ भने नयाँ शेयर लिएपछि उनको हिस्सा १५ प्रतिशत पुग्नेछ ।
टेस्लाको शेयर अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३०९ डलर रहेको छ । गत वर्ष प्रतिकित्ता ४८० डलरसम्म पुगेको टेस्लाको सेयर मस्क अमेरिकी राष्ट्रपतिको सहयोगी बन्दै ह्वाइट हाउस प्रवेश गरेपछि मार्चमा घटेर प्रतिकित्ता २२१ डलरसम्म झरेको थियो । त्यसयता टेस्लाको सेयर मूल्य फेरि उकालो लागिरहेका छ ।
टेस्लाले अब विद्युतीय सवारीभन्दा एआई र रोबोटिक्समा केन्द्रित कम्पनी बन्ने दिशामा गएको जनाएको छ । यस्तो मोडमा मस्कको क्षमता अपरिहार्य भएको टेस्ला बोर्ड सदस्यको राय छ । मस्कले टेस्लाबाहेक एक्सएआई, न्युरालिंक र बोरिङ कम्पनीको पनि नेतृत्व गरिरहेका छन् ।

