काठमाडौं । अमेरिकी इलेक्ट्रीक भेहिकल उत्पादक टेस्लाले चीनमा बुकिङ बन्द गरेको छ । अमेरिका र चीन बीच चकिँदै गएको ‘ट्रेड वार’लाई मध्ये नजर गर्दै टेस्लाले चीनमा दुई मोडलको नयाँ बुकिङ लिन बन्द गरेको हो ।
टेस्लाले चिनियाँ बजारको लागि मोडल एस र मोडल एक्सको बुकिङ बन्द गरेको छ । कम्पनीले टेस्ला चाइनाको वेबसाइटबाट ‘अर्डर नाउ’ भन्ने बटनलाई ‘भ्यू नाउ’ मा परिवर्तन गरेको छ । अर्थात् कम्पनीले बेवसाइटमा मोडल एस र मोडल एक्सको अर्डर लिन नमिल्ने बनाएको छ भने हेर्न मात्र मिल्छ ।
केही दिन अघिसम्म पनि टेस्लाले आफ्ना सबै मोडलहरू चिनिया बजारमा बुकिङ लिइरहेको थियो । टेस्लाले चीनमा मोडल थ्री र मोडल वाईको उत्पादन गर्छ भने मोडल एस र मोडल एक्स भने अमेरिकाबाट आयात गरी बिक्री गरिरहेको थियो ।
टेस्लाको मोडल थ्री र मोडल वाई टेस्लाको संघाइमा रहेको फ्याक्ट्रीमा उत्पादन भएर अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात हुने गरेको छ ।
टेस्लाले जापानमा पनि मोडल एस र मोडल वाइको मार्च ३१ बाटै बुकिङ लिन बन्द गरिसकेको छ ।

दुई साता यता अमेरिका र चीनले एकपछि अर्को जवाफी भन्सार लगाइरहेका छन् । अमेरिकाले हाल चिनियाँ सामानलाई १४५ प्रतिशतसम्म उच्च भन्सार लगाएको छ । जवाफमा चीनले पनि अमेरिकाबाट आउने सामाग्रीमा १२५ प्रतिशत भन्सार तोकेको छ ।

