काठमाडौं । विश्व बजारमा इलेक्ट्रीक भेहिकलको बढ्दो मागसँगै त्यसको सबैभन्दा धेरै फाइदा पाइरहेकको अमेरिकी इभी निर्माता कम्पनी टेस्लाले आफ्नो उत्पादन क्षमतालाई बढाउँदै लाने रणनीति तयार गरेको छ ।
मागमा भएको वृद्धिसँगै भविष्यको विक्री तथा कम्पनीले गर्न सक्ने नाफाको आंकलन गरेर वालस्ट्रीटमा टेस्लाको शेयर मूल्य ‘स्काइ रकेट’ भएको छ । जसका कारण टेस्लाका प्रमुख लगानीकर्ता तथा सीइओ विश्वको सबैभन्दा धनी मानिसको सुचीमा पहिलो स्थानमा रहेका छन् ।
अमेरिकी बजारमा अहिले टेस्लाको कार किन्न अर्डर हाल्यो भने त्यसको डेलिभरी १ वर्षपछि मात्र हुने अवस्था छ । तैपनी ग्राहकहरुले धेरै संख्यामा अर्डर गरिरहेका छन् । हाल टेस्लाको विश्वभर रहेका प्लान्टबाट वार्षिक १० लाख कार उत्पादन क्षमता रहेको छ । तर, क्षमता अनुसारको उत्पादन भने हुन सकेको छैन ।
बढ्दो मागलाई परिपूर्तिगर्ने उद्देश्यले टेस्लाले नयाँ दुई नयाँ निर्माणलाई अन्तिम चरणमा पुर्याएको छ । टेस्लाको नयाँ टेक्सासको अस्टिन र जर्मनको बर्लीन नजिक बन्दै गरेको प्लान्टबाट यही वर्षदेखि उत्पादन सुरु हुने जनाइएको छ ।
टेस्लाले सांघाइमा रहेको प्लान्टको उत्पादन क्षमता पनि बढाएको छ । त्यसैगरी नेभाडाको फेरमन्टमा रहेको प्लान्टको क्षमता बढाउने क्रममा रहेको छ । टेस्लाको सबै प्लान्टको निर्माण तथा विस्तारपछि सन् २०२२ मा वार्षिक २० लाख उत्पादन पुग्ने जनाइएको छ । तर, वास्तबिक उत्पादन भने कति हुन्छ त्यसको लागि भने अझै एक वर्ष कुर्नु पर्ने हुन्छ ।

