अब कार चार्जर पनि वायरलेस !

काठमाडौं । अब कारको चार्जर पनि वायरलेस आउने भएको छ । अमेरिकी इलेक्ट्रीक कार ब्राण्ड टेस्लाले विद्युतीय कारको लागि वायरलेस चार्जरको प्याटेन्ट दर्ता गराएको हो ।

केही वर्ष अगाडिसम्म वायरलेस फोन चार्जर नै अनौठो लाग्थ्यो । अहिले सामान्य कारमा समेत वायरलेस चार्जर आउन थालेको छ । टेस्लाले गाडी नै वायरलेस प्रविधिबाट चार्ज गर्न मिल्ने प्रविधिको प्याटेन्ट दर्ता गराएको हो ।

टेस्लाले चार प्रकारको फरक-फरक ईभी वायरलेस चार्जिङ प्याडका लागि पेटेन्ट दर्ता गरेको छ । टेस्लाले सन् २०२३ मै वायरलेस पावर डेलिभरी सिस्टम बनाउने कम्पनी ‘वाइफेरन’लाई अक्वायर गरेको थियो ।

प्याटेन्टमा देखिएको तस्विर अनुसार टेस्लाको वायरलेस चार्जर होम ग्यारेज जस्तो देखिएको छ । टेस्लाले फिजिकल प्लगइन नगरिकनै आगामी अक्टुबर १० मा रिभिल हुने सेल्फ ड्राइभिङ रोवोट्याक्सीका लागि वायरलेस चार्जर विकास गरिरहेको अनुमान गरिएको छ ।

चालक रहित रोवोट्याक्सी आफैँ चार्जिङ प्याडको माथि गएर पार्क हुने र सोहि इन्डक्सन प्याडले तुरुन्तै चार्ज सुरु गर्ने काम कम्पनीले गरिरहेको हो । यो प्रविधिको सहायताले मानिसको सहयोग विनानै कार चार्ज गर्न सकिनेछ ।

वायरलेस चार्जिङ सिस्टमले वायर कनेक्नस जतिको स्पीडमा अझै पनि चार्ज गर्न सकेको छैन । अहिलेसम्म विकास भएको वायरलेस चार्जरले २० किलोवाटको पावरमा मात्र चार्ज गर्न सकिएको छ ।

तर, टेस्लाको प्याटेन्ट अनुसार जमिनमा हुने करेन्टको लिकेज कम गर्ने, चार्जिङ सर्किटको टोपोलोजी र टेम्प्रेचर सेन्सर आदिको प्रयोग भएकाले टेस्लाको वायरलेस चार्जर अझै फास्ट र रिलायबल हुने विश्वास गरिएको छ ।


Back_to_top