काठमाडौं । हिरो मोटोकर्पले भारतीय बजारमा आफ्नो स्ट्रिट फाइटर मोटरसाइकल सेग्मेन्टमा रहेको एक्स्ट्रीम १६०आरको नयाँ भर्सन सार्वजनिक गर्ने तयारी थालेको छ ।
कम्पनीले पुरानोको तुलनामा नयाँ एक्स्ट्रीम १६० आरमा धेरै परिवर्तन गरेर बजारमा ल्याउने भएको हो । कम्पनीले नयाँ भर्सन एक्स्ट्रीम १६० आर डिलरहरूमा पुर्याइसकेको छ । तर आधिकारिक रूपमा भने मोटरसाइकल सार्वजनिक भएको घोषणा गरेको छैन ।
हिरोको एक्स्ट्रीम १२५ आर मोटरसाइकल सार्वजनिक गरेको कम्पनीले एक हप्ता पूरा नहुँदै नयाँ मोटरसाइकल भारतीय बजारमा ल्याउने तयारी गरेको हो ।
शोरूमहरूमा प्रदर्शन गरिएको नयाँ एक्स्ट्रीम १६०आर नयाँ डिजाइनमा देखिएको छ । यसमा फिचरहरू पनि निकै एड्भान्स प्रयोग गरिएको छ ।
यो नयाँ मोडललाई कम्पनीले एक्स्ट्रीम २५०आर जस्तै अपडेट गरेको छ। मोटरसाइकलमा नयाँ हेडलाइट डिजाइन र हेडलाइट कन्सोल छ, जुन एक्स्ट्रीम २५०आर जस्तै छ। यो ग्रे कलरका साथै युनिक ग्राफिक्समा उपलब्ध छ। एक्स्ट्रीम १६० आरमा दिइएको नयाँ डेलाइट कन्सोल पुरानो मोडल भन्दा बढी प्रिमियम देखिन्छ।
साथै, यसमा अपडेट गरिएको क्रुज कन्ट्रोल, राइड बाइ वायर थ्रोटल, कनेक्टिभिटी सिस्टम सहितको नयाँ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, राइड मोड, डबल च्यानल एबीएस, टाइप ए चार्जिङ पोर्ट लगायतका सुविधा फिचरहरू छन्।
मोटरसाइकलको इन्जिनमा कुनै परिवर्तन गरिएको छैन । एक्स्ट्रीममा १६३.२ सीसीको, सिंगल सिलिण्डर, फोरभी, आयल कुल्ड, एफआई इन्जिन छ। यो इन्जिनले अधिकतम १६.६ ब्रेकहर्स पावर र १४.६ एनएम टर्क जेनेरेट गर्छ। यस मोटरसाइकलमा ६ स्पीडको गियरबक्स छ।

