संचालनमा आयो ट्राफिक कन्ट्रोल रुम

काठमाडौं । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको ट्राफिक प्रहरीको कन्ट्रोल रुम संचालनमा आएको छ ।

गैरआवासीय नेपाली संघले निर्माण गरिदिएको कन्ट्रोल रुम मंगलबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष महेशकुमार श्रेष्ठ र उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मनोजकुमार श्रेष्ठले ट्राफिक कन्ट्रोल रुमको चाबी प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीलाई हस्तान्तरण गरेका हुन् ।

प्रमुख अतिथि कार्की र विशिष्ट अतिथि श्रेष्ठले पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुमको संयुक्त समुद्घाटन समेत गरेका थिए ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद विपद् व्यवस्थापन समितिका कार्यकारी निर्देशक रवि किरण अधिकारीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुमको निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

श्रेष्ठले आफ्नो संस्था र आफूले नागरिकको भूमिका निभाएको, यस कन्ट्रोल रुममा जडित प्रविधिको उपयोगबाट सवारी दुर्घटना तथा अपराध न्यूनीकरणमा महत्त्वपूर्ण र समाजका लागि सकारात्मक कार्य हुने बताए । अब शीघ्र ब्रेथलाइजर हस्तान्तरणको योजना बनाइरहेको पनि अध्यक्ष श्रेष्ठले कार्यक्रममा जानकारी गराए ।

प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले यो सहकार्यका लागि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् र पदाधिकारीलाई धन्यवाद दिए ।

उक्त कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरू र तीन जना ट्राफिक प्रहरीहरूलाई कदरपत्रले सम्मान गरेको छ ।


Back_to_top