गाडी किन्नेलाई बिक्रेताले दिए भारी छुट, यी बैंकले दिन्छन् सस्तोमा ऋण

काठमाडौं । बुधबार (साउन २१ गते)देखि सुरू भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ले अटोमोबाइल बजार तताएको छ ।

मोबिलिटी एक्स्पोमा ५० ब्राण्डका सवारी साधनको ४८ वटा स्टल राखिएका छन् । सवारी बिक्रेताले बुधबार एकै दिन ३० बढी नयाँ मोडलका सवारी साधन सार्वजनिक गरेका थिए । त्यस यता पनि केही नयाँ सवारी लन्च गर्ने क्रम जारी नै छ ।

नाइमामा ग्राहकलाई आकर्षित गर्न बिक्रेताहरूले नयाँ कार/स्कुटर/मोटरसाइकल मात्र देखाएका छैनन, चर्को ‘प्राइस वार’मै उत्रिएका छन् । उनीहरूले बम्पर छुट तथा विभिन्न आकर्षक स्कीम घोषणा गरेका छन् । नाइमा गाडी बुकिङ/खरिद गर्दा एउटै कारमा १ लाखदेखि २० लाख रुपैयाँसम्म नगद छुट पाइन्छ ।

यसले सवारी बिक्रेता र क्रेता दुवैलाई फाइदा पुग्ने देखिन्छ । बिक्रेताले मोबिलिटी एक्स्पोलाई आफ्नो स्टक तथा नयाँ गाडी बिक्री गर्ने र क्रेताले छानीछानी सस्तोमा गाडी किन्ने अवसरको रूपमा लिएका छन् । समग्रले मोबिलिटी एक्स्पोले अटोे बजार भाइब्रेन्ट बनाएको छ ।

नयाँ सवारी खरिद गर्ने योजनामा रहेकालाई अहिले दोहोरो अवसर पाएको देखिन्छ । एकातर्फ प्राइस वारका कारण गाडीको मूल्य निकै सस्तिएको छ भने अर्कोतर्फ किस्ताबन्दीमा गाडी किन्नेले सस्तो ब्याजदरमा ऋण पाउने अवस्था छ ।

बैंकहरूको बेसरेट ५ वर्ष यताकै न्यून रहेकाले सस्तो ब्याजदरमा कर्जा पाउने अवस्था रहेको हो । विगतमा १५/१६ प्रतिशतसम्म ब्याजदरमा कर्जा लिनुपर्ने अवस्था रहेकोमा अहिले ६.५/७ प्रतिशत ब्याजदरमै ऋण पाइने अवस्था छ ।

अधिकांश बैंकहरूले अहिले आफ्नो बेसरेटमा न्यूनतम १/१.५ प्रतिशत प्रिमियम मात्रै जोडेर गाडी किन्न ऋण दिन्छन् । हाल वाणिज्य बैंकहरूको औसत बेसरेट सवा ६ प्रतिशत हाराहारी रहेको छ । त्यसमा न्यूनतम १ प्रतिशत प्रिमियम जोडे भने पनि ७/७.५ प्रतिशत ब्याजदरमै ऋण पाउने अवस्था छ ।

नाइमा मोबिलिटी एक्स्पोमा एभेष्ट बैंकले मात्र सहभागिता जनाएको छ । एभरेष्टले नाइमालाई नै लक्षित गर्दै सस्तो ब्याजदरको स्कीम ल्याएको छ । एभरेष्टले ६.५२ प्रतिशत ब्याजदर (फ्लोटिङ)मा कजाए उपलब्ध गराउने भएको छ । त्यस्तै, बैंकले स्थिर ७ प्रतिशत ब्याजदरमा ५ वर्षका लागि कर्जा उपलब्ध गराउने भएको छ ।

नाइमामा एभरेष्ट बाहेक अन्य बैंकले सहभागीता जनाएका छैनन् । त्यसैले उनीहरूले नाइमालाई नै लक्षित गरेर अटो कर्जा स्कीम ल्याएन छैनन् । तर, बैंकिङ प्रणालीमा अधिक तरलता रहेको र सवारी साधन बिक्रीको सिजन सुरू भएकाले अन्य बैंकले पनि एभरेष्टकै हाराहारीमा ऋण दिन्छन् ।

यी बैंकले दिन्छन् सस्तोमा ऋण

कुन बैंकबाट सस्तोमा ऋण पाइन्छ भन्ने कुरा बैंकहरूको बेसरेटमा भर पर्दछ । तुलनात्मक रूपमा कम बेसरेट भएका बैंकहरूले सस्तोमा ऋण दिन सक्छन् भने बेसरेट धेरै भएका बैंकको ब्याजदर महँगो हुन्छ ।

२० वटा बैंकमध्ये हाल विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्डको बेसरेट सबैभन्दा कम ४.८७ प्रतिशत रहेको छ । तर, हाल चार्टर्डले सवारी कर्जा दिँदैन ।

सवारी कर्जा दिने बैंकहरूमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर सबैभन्दा सस्तो ४.८९ प्रतिशत मात्रै छ । यस बैंकले बेसरेटमा न्यूनतम १ देखि ३ प्रतिशत प्रिमियम जोडर सवारी कर्जा छन् । सो अनुसार यस बैंकबाट ७ देखि ८ प्रतिशत ब्याजदरमा ऋण पाइन्छ ।

त्यस्तै, एभरेष्ट, नेपाल, नेपाल इन्भेष्टमेन्ट मेगा, नबिल, कृषि विकास र ग्लोबल आइएई बैंकको बेसरेट ६ प्रतिशतभन्दा कम छ । यी बैंकहरूले न्यूनतम १ देखि अधिकतम ४ प्रतिशतसम्म प्रिमियम जोडेर गाडी किन्न ऋण दिन्छन् । सो अनुसार यी बैंकबाट पनि ७ प्रतिशत हाराहारीमा कर्जा पाइने अवस्था छ ।

त्यस्तै, सानिमा, माछापुच्छ्रे, एनएमबी, सिद्धार्थ र नेपाल एसबीआइको बेसरेट साढे ६ प्रतिशतभन्दा कम छ । यी बैंकबाट पनि साढे ७÷८ प्रतिशतमा सवारी कर्जा पाउन सकिन्छ ।

सिटिजन्स, हिमालयन, प्रभु, लक्ष्मी सनराइज, कुमारी, प्राइम कमर्शियलको बेसरेट ६.५ प्रतिशतदेखि ७ प्रतिशतको बीचमा छ ।

२० वटा बैंकमध्ये एनआइसी एशियाको बेसरेट सबैभन्दा धेरै ७.१७ प्रतिशत छ । बेसरेट महँगो भएकाले तुलनात्मक रूपमा एनआइसीबाट कर्जा लिँदा ब्याजदर केही महँगो पर्छ । यद्यपि, यस बैंकले पनि बार्गेनिङ गर्न सक्ने ग्राहकलाई ८/८.५ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिन्छ ।


Back_to_top