नाइमामा सार्वजनिक भए २६ मोडलका नयाँ मोटरसाइकल र स्कुटर, कुनको मूल्य कति ?

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा दुईपाँग्रेतर्फ २६ नयाँ मोडलका मोटरसाइकल/स्कुटर सार्वजनिक भएको छ ।
बुधबार (साउन २१ गते)देखि सुरु भएको नाइमा एक्स्पोमा सहभागी सबैजसो ब्रान्डले नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक गरेका हुन् ।

नयाँ मोडल सार्वजनिक गर्नेमा केटीएम, बेनेली, याडिया, सीएफमोटो, एथर, सेगवे, ट्रायम्फ, बीजी, टीभीएस जस्ता ब्रान्ड रहेका छन् ।

१५ ब्रान्डको सहभागीता रहेको एक्स्पोमा केटीएम मोटरसाइकले आफ्नो लाइनअपनै नयाँ मोडलमा अपग्रेड गरेको छ । चार मोडलको नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो भने दुई मोडलको २०२५ भर्सन सार्वजनिक गरेको हो ।

केटीएम मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलाश चन्द एण्ड कम्पनीले नयाँ केटीएम ३९० एन्ड्यूरो आर र एड्भेन्चर ३९० एस मोडल सार्वजनिक गरेको हो । त्यस्तै कम्पनीले केटीएम २०० ड्यूक, २५० ड्युक र ३९० ड्युकको २०२५ मोडल सार्वजनिक गरेको हो । कम्पनीले ३९० एन्ड्युरो आरको मूल्य १० लाख, एड्भेन्चर ३९० को १० लाख ७५ हजार रुपैयाँ तोकेर सार्वजनिक गरेको हो ।

त्यस्तै, कम्पनीले केटीएम ड्युक २०० को मूल्य ५ लाख ९९ हजार ९०० रुपैयाँ, २५० ड्युकको ७ लाख १४ हजार ९०० रुपैयाँ, ३९० ड्युकको ९ लाख ४९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ भने, २५० एडभेन्चरको मूल्य ७ लाख ४९ हजार ९०० रुपैयाँ तोकेको छ ।

त्यसैगरी, याडियाले एक मोडल स्कुटर र एक मोडलको इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले याडिया भेलेक्स स्कुटर र किनेस मोटरसाइकल सार्वजनिक गरेको हो ।

याडिया इलेक्ट्रीकको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी कुजु नेपालले पहिलो मोटरसाइकल किनेसको मूल्य ६ लाख ६० हजार रुपैयाँ तोकेर सार्वजनिक गरेको हो ।

स्कुटर तर्फ भेलेक्सको तीन भेरियन्ट सार्वजनिक गरेको हो । जसको सुरुवाती मूल्य २ लाख ८५ हजार रुपैयाँ तोकेको छ ।

टीभीएस मोटरसाइकल तथा स्कुटर बिक्री गर्ने जगदम्बा मोटर्सले केटीएम आरटीआर ३१० प्रर्दशन गरेको छ भने एनटर्क १२५ को दुई नयाँ कलर अप्सन सार्वजनिक गरेको छ ।

कम्पनीले रोनिनको दुई मोडल कष्टम मोडलसमेत प्रदर्शनिमा राखेको छ । कम्पनीले सार्वजनिक गरेको आरटीआर ३१० को मूल्य सार्वजनिक गरेको छैन भने यसको बिक्री सुरू हुन अझै केही समय लाग्ने छ । त्यस्तै कम्पनीले आरआर ३१० को २०२५ मोडलसमेत प्रदर्शन गरेको छ । कम्पनीले एनटर्क १२५ को नयाँ कलरको मूल्य भने २ लाख ८२ हजार ९०० रुपैयाँ तोकेर सार्वजनिक गरेको हो । अन्य मोडलको मूल्य भने सार्वजनिक गरेको छैन् ।

ट्रयाम्फ मोटरसाइकल बिक्री गर्ने हंशराज हुलाश चन्द एण्ड कम्पनीले एक/एक नयाँ कलरमा ट्रायम्फ स्पीड र स्क्रयाम्बलर सार्वजनिक गरेको छ । कम्नपीले स्पीड ४०० को यल्लो कलर र स्क्रयामको रेड कलर सार्वजनिक गरेको हो । कम्पनीले यसको मूल्यमा कुनै परिर्वतन गरेको छैन् ।

त्यस्तै, बेनेली मोटरसाइकल बिक्री गर्दै आएको केटीएम इन्टरनेशनलले मोर्बीडेली ब्रान्डको दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । बेनेली ब्रान्डकै अन्डरमा रहेको मोर्बीडेलीको एड्भेन्चर मोटरसाइकल मोर्बीडेली २५२ र ३५२ सार्वजनिक भएको हो । कम्पनीले यी मोटरसाइकलको मूल्य क्रमशः ५ लाख ७५ हजार र ९ लाख ९७ हजार रुपैयाँ तोकेको छ ।

सीएफमोटो बिक्री गर्ने ऋषि ट्रेड सेन्टरले दुई मोडलको नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले यो नाइमा एक्स्पोकै सबैभन्दा प्रिमियम मोटरसाइकल ४५० एसआरएस र ३०० एनके गरी दुई मोडल सार्वजनिक गरेको हो । कम्पनीले ४५० एसआरएसको मूल्य १३ लाख ५० हजार रुपैयाँ र ३०० एनकेको मूल्य ६ लाख ५४ हजार ९०० रुपैयाँ तोकेको छ ।

त्यस्तै, इलेक्ट्रीक तर्फ एथर र बजाजले एकएक मोडल प्रर्दशनीमा राखेका छन् । एथरले रिज्टा र बजाजले चेतक स्कुटर सार्वजनिक गरेको हुन् । एथरले ३ लाख ८३ हजार ५०० रुपैयाँ र बजाजले चेतकको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ तोकेका छन् ।

त्यसैगरी, सेगवेले दुई मोडलका ई बाइक र दुई मोडलका स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले ई बाइकमा साइवर र सफारी सार्वजनिक गरेको हो । कम्पनीले यसको मूल्य क्रमश ५ लाख ५५ हजार र ३ लाख ५० हजार रुपैयाँ रहेको छ ।

स्कुटर तर्फ ई १२५ एमके २ र ई १५० एमके २ सार्वजनिक भएको हो । यसको मूल्य क्रमश ३ लाख ५० हजार र ५ लाख रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।

त्यस्तै, नेपाली बजारमा नयाँ विद्युतीय स्कुटर ब्राण्ड ‘बिगस (बीजी) इलेक्ट्रीकका दुई नयाँ स्कुटर बिक्री सुरू भएको छ । अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइन्क प्रालिले बीजी आरयूभी ३५० र बीजी सी १२ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो ।

कम्पनीले दुवै स्कुटर दुई दुई भेरियन्टमा सार्वजनिक गरेको हो । कम्पनीले आरयूभी ३५० आइईएक्सको मूल्य २ लाख ७९ हजार ४०० रुपैयाँ र आरयूभी म्याक्सको मूल्य ३ लाख २५ हजार ३०० रुपैयाँ तोकेको छ । त्यस्तै, बीजी सी १२ आइईएक्सको मूल्य २ लाख २८ हजार ४०० रुपैयाँ र सी १२ म्याक्स ३।० को ३ लाख ४ हजार ९०० रुपैयाँ तोकेको छ ।


Back_to_top