कडा प्रतिस्पर्धामा हुन्डाई, टाटा र महिन्द्रा

काठमाडौं । विगत एक वर्षदेखि हुन्डाई, टाटा र महिन्द्राले भारतमा कडा प्रतिस्पर्धा गरिरहेका छन् । यी तीन ब्राण्डमा हुन्डाई अगाडि हुँदा टाटाले एकदमै नजिकबाट पच्छाइरहेको हो ।

विगत एक वर्षमा दुई महिनामा टाटाले हुन्डाईलाई उछिनेको छ । बाँकी महिनामा हुन्डाई नै अगाडि देखिन्छ । पहिलो स्थानको सुजुकीसँग भने यी तीनवटै ब्राण्डको तत्काल प्रतिस्पर्धा देखिदैन ।

सुजुकीले हरेक महिना १ लाख ४० हजार यूनिटभन्दा माथिको औषतमा कार बिक्री गरिरहेको छ । हुन्डाई र टाटाको उत्पादन र बिक्री पनि लगभग स्थिर छ । भारतीय बजारमा औषत मासिक ५० हजार यूनिट कार हुन्डाईले बिक्री गर्छ भने टाटाले ४७ हजार यूनिट औषत बिक्री गर्छ ।

टाटा र हुन्डाईलाई पच्छाइरहेको महिन्द्राले औषत ४३ हजार यूनिट एसयूभी बिक्री गर्दै आएको छ । महिन्द्राले बिक्री गर्ने अधिकांश मोडल एसयूभी हुन् । कम्पनीले स्कर्पियो, एक्सयूभी थ्रीएक्सओ, एक्सयूभी ७००, एक्सयूभी ४००, थार जस्ता एसयूभी बिक्री गर्दै आएको छ ।

मे २०२४ मा हुन्डाईले दोस्रो स्थानमा रहँदै ४९ हजार १५१ यूनिट कार बिक्री गर्दा तेस्रो स्थानमा रहेको टाटाले ४६ हजार ६९७ यूनिट होलसेल बिक्री गरेको छ । त्यस्तै चौथो स्थानमा रहेको महिन्द्राले ४३ हजार २१८ यूनिट कार बिक्री गरेको हो । पहिलो स्थानको सुजुकीले १ लाख ४३ हजार ७०८ यूनिट कार बेच्न सफल भएको थियो ।


Back_to_top